| शुक्रबार, बैशाख १४, २०८१

अडिग ओली, अटल ‘सूर्य’ र अखण्डित नेकपा

राजनीतिक रुपमा विभाजित नेकपाका दुबै पक्षले आफू आधिकारिक नेकपा भएको र ‘सूर्य’ चिन्ह आफूले पाउनु पर्ने दाबी गर्दै आएका थिए । तर निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को आन्तरिक विवादबाट अलग भएको दाहाल-नेपाल पक्षको दावी अस्वीकार गरी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको पार्टीलाई नै आधिकारिकता प्रधान गरेको छ । पार्टीका दुई अध्यक्षको सहमति नहुँदा दुई पक्षका कुनै पनि निर्णय स्वीकार नहुँदा नेकपा विभाजन गर्न चाहने देशी विदेशी प्रतिक्रियावादी तत्वलाई ठूलो झड्का लागेको छ । देश र जनताको पक्षमा सतिसालजस्तै ठिङ्ग उभिएका प्रधानमन्त्री तथा नेकपाका प्रथम अध्यक्ष के पी शर्मा ओलीलाई घेराबन्दी गरेर कमजोर बनाउने षणयन्त्र पुःन एक पटक असफल भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई तहस नहस बनाएर एकाधिकार पूँजीवाद लाद्ने विदेशी प्रतिक्रियावादी चलखेलमा एकपटक धक्का लागेको छ ।

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रवीच एकता हुँदा एकताको महाधिवेशनसम्म पार्टीका सबै काम कारवाही दुई अध्यक्षको सहमतिमा मात्र गर्ने वैधानिक एवं लिखित सहमति गरिएको थियो । त्यो व्यवस्था करिब तीस प्रतिशत शक्ति लिएर तत्कालीन एमालेसंग मिल्न आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष आग्रहमा गरिएको थियो ।  तर पछिल्लो समय नेकपामा अल्पमत–बहुमतको अवैधानिक अभ्यास  हुदै आएको थियो । तत्कालीन एमाले र तत्कालिन माओवादी केन्द्रविच पार्टी एकता प्रक्रिया टुङ्ग्याउने शुरुवाती चरणमै बरिष्ठ नेता माधव नेपालको नोट अफ डिसेन्टबाट शुरु भएको यो अभ्यास अहिले समूहबन्दी, कित्ताबन्दी हुदै सडक संघर्षमा परिणत भएको छ ।

                              -निर्मल भट्टराई

नेकपाका दोश्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टी र संसदबाट प्रधानमन्त्रीलाई काम गर्न नदिने हदैसम्मको हर्कत भएपछि संसद विघटन गरेर देशलाई निकास दिने वहाँको कदमपछि त नेकपा फुटाउन प्रचण्ड-माधव पक्षले आकास पाताल जोड्यो । पार्टीमा देखिएको विचित्र प्रकारको विवादले नेपाली श्रमजीवी जनतालाई चिन्तित तुल्याएको छ भने देशी विदेशी प्रतिक्रियावादी शक्तिलाई षणयन्त्रको लागि मैदान बनाइदिएको छ । फेरि विगतको जस्तै अस्थीरता पैदा गर्न र आफ्नो निहीत स्वार्थ पूरा गर्न उनीहरु निकै सक्रिय भएका छन् ।

तर नेकपा विभाजनका बारे जेसुकै चिन्ता व्यक्त भए पनि, भित्री बाहिरी षणयन्त्र भए पनि अब पार्टी कानुनी रुपमा विभाजन नहुने पक्का भयो । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रविच एकता हुन जसरी दुई अध्यक्ष-के पी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’-विच सहमति आवश्यक पर्यो, त्यसरी नै दुई नेता एक ठाउँमा बस्नै नसक्ने हो भने छुट्टिन पनि एक पटक सहमतिमा आउनै पर्यो ! जनताको अभिमत त नेकपाबाट कोही नेता नभागुन् भन्ने नै छ । नेता मिलुन् भन्ने नै छ । लाखौं जनताको रगत पसिनाबाट बनेको पार्टी छिन्न-भिन्न नहोस् भनेर जनता त धूप हालेर बसेका छन् ।

अब बुझ्न बाँकी रहेन-नेकपाको अहिलेको विवाद पदकेन्द्रित विवाद हो । त्यसलाई ‘विधि र पद्धति’को लेपन लगाईयो । विधि र पद्धतिअनुसार पार्टी चलेन भनियो । शीर्ष नेताहरुको परम्परागत हिसाबकिताबको आधारमा र स्थायी समितिका सदस्यको ‘टाउका गनाइ’का आधारमा सबै विषयको वारपार फैसला हुनु पर्ने कुरालाई विधि र पद्धति भनियो । यसैबाट नेतृत्वको सहमतिबाट पार्टीलाई अगाडि बढ्दै आएको अवस्थालाई अस्वीकार गर्ने क्रियाकलाप मौलायो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विच हुने सहमतिले कम्युनिष्ट आन्दोलनले मान्दै आएका पार्टी सञ्चालनका धेरै विधि पद्धतिलाई महाधिवेशनसम्म स्थगित गरिदिएको विषयपार्टीभित्र र बाहिर विदित हुँदाहुँदै त्यसलाई जबरजस्ती छोप्ने काम भयो  ।

अनि यो जान्दाजान्दै आफ्नो स्वार्थको लागि ‘विधि र पद्धति’को बाँसुरीलाई निर्वाचन आयोगले मान्यता दिने कुरै थिएन । उनीहरुको अवैधानिक मागलाई स्वीकार गर्ने अवस्था थिएन । विधान सहमतिको बनाएपछि बहुमत-अल्पमतको बखेडा स्वतः अवैधानिक हुन्थ्यो नै ।

शीर्ष नेतृत्वविच सहमतिमा जोड दिनु पर्ने अवस्थामा बहुमत-अल्पमतको यो  बाँसुरीले पार्टीलाई आफ्नो गन्तव्यतर्फ जान गम्भिर अवरोध गरिरह्यो, गरिरहेछ ।

के पी शर्मा ओलीजस्ता देशकै तथा नेकपाको धुरी खाँबो र राष्ट्रकै प्रतिस्पर्धाविहीन नेताले नेकपाको नेतृत्व गरुन्ज्याल नेकपाको विभाजन गर्ने आँट कसैले पनि गर्न सक्दैन । किनभने माथिल्लो तहमा केही हलचल पैदा गरिए पनि पार्टीका संगठित सदस्य, जो पार्टीका पिलर हुन्, पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिएका छन् । पार्टीको मूल नेतृत्वको पक्षमा उभिएका छन् । भलै शीर्ष तहमा भने गुटीय आरोप–प्रत्यारोपले जनतामा केही खिन्नता र अमिलोपन पैदा भएको छ । जो नितान्त स्वभाविक छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीद्वारा के पी शर्मा ओलीले पार्टी नेतृत्वका लागि पार्टीको महाधिवेशन (अर्ली महाधिवेशन नै गरेर भए पनि) र प्रधानमन्त्री परिवर्तन गर्न संसदीय निर्वाचनसम्म कुर्न  प्रस्ताव गरिसक्नु भएको थियो । राजनीतिक स्थीरताका लागि संसदको एक कार्यकालसम्म एकै प्रधानमन्त्रीले शासन गर्ने विषय र पार्टीको नेतृत्व हस्तान्तरण हठात् नभै महाधिवेशनको विधि प्रक्रियामार्फत् गर्ने विषय गहन महत्वका विषय थिए । तर पदीय आकाङ्क्षाले पार्टी र राष्ट्रका लागि हितकारी यस्ता विषयलाई ओझेलमा पारिए । पार्टी विभाजन गरेरै भए पनि आफूले चाहेको पद हाताहाती लिईहाल्ने प्रचण्डलगायतका  नेकपाका केही अति महत्वाकाङ्क्षी नेताले यो ऐतिहासिक प्रस्तावलाई नमान्दा यो अवस्था आएको हो ।

निर्वाचन आयोगले नेकपाको बारे गरेको पछिल्लो निर्णयले नेकपाको भलो चिताउने सबैलाई एकपटक उत्साहित गरेको छ । यो निर्णयबाट अहिले अहिले गाली गलौजमा उत्रिएका नेताहरुको पहिलो र एकमात्र विकल्प आ-आफ्ना कमी-कमजोरीलाई स्वीकारेर,आरोप-प्रत्यारोप फिर्ता लिएर, आलोचना- आत्मालोचना गरेर पार्टीमा पूर्ववत् फर्कनु नै हो । देशी विदेशी कम्युनिष्टविरोधी शक्तिलाई मिलेरै प्रतिकार गर्नु हो ।

देश, जनता र समाजवादी लक्ष विर्सेर आफ्नो निहीत स्वार्थ पूरा गर्न नेकपाबाट छुट्टिन चाहने केही नेताहरुले देशभरिबाट जनता बटुलेर काठमाण्डौमा एक दुई जुलुस निकाल्दैमा पार्टी बन्दैन भन्ने अब त बुझ्लान् कि ? जनताको अधिकांश हिस्साले प्रधानमन्त्रीको कदमलाई समर्थन गरेको अनुभूत गर्लान् कि ?

प्रधानमन्त्री तथा नेकपाका प्रथम अध्यक्ष के पी शर्मा ओलीलाई जतिसुकै सत्तोसराप गरे पनि वँहाको सहमति र अनुमति विना पार्टी चोइट्याउन पनि नसक्ने अवस्था अब रहेन । दुई नेताको सहमतिमा बनेको पार्टी विधानको कारण पार्टी विभाजन हुन नसक्ने थाहा पाएपछि पनि पार्टी विभाजनको कति हुङ्कार गर्नु ?

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको माओवादी जनयुद्ध आफ्नो वास्तविक लक्षमा असफल भयो । माओवादी जनयुद्धको जगमा बनेको पार्टी एक दशक नवित्दै तहसनहस भयो । उनी खास राजनीतिक लक्षमा निरन्तर असफल हुदै आएका छन् । उनको अहिलेको के पी ओलीको नेतृत्वमा रहेको नेकपा पनि तहसनहस पार्ने र देशकै सर्वाधिक लोकपृय ‘सूर्य’ टप्काएर भाग्ने रणनीति पनि असफल हुनेछ । नेकपा अखण्डित रहनेछ, ‘सूर्य’ अटल रहनेछ ।

रह्यो माधव, जे एन र भीम रावलहरुको कुरा,उनीहरू ‘सूर्य’को गुरुत्वाकर्षणबाट बाहिर जानै सक्दैनन्, गएको दिन सिद्धिन्छन् ।

र, जबज र ‘सूर्य’को प्रतापले नेपाली राजनीतिमा उदाएका नेकपाका अरु नेता कार्यकर्ताहरु त ढिलो चाँडो ओली नेतृत्वको शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा पुःन समाहित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्