| शुक्रबार, चैत्र ९, २०८०

प्रचण्ड दक्षिणपन्थका सच्चा सारथी र जनयुद्धका महारथी हुन्

-निर्मल भट्टराई

एमालेविरोधी वर्तमान गठबन्धन निर्माणमा माओवादी केन्द्रका सदाबहार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सबभन्दा ठूलो भूमिका रहेको छ । नेपाली राजनीतिका लोकपृय नेता नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओली र सिंगो एमालेसॅग मिलेर, त्यसैभित्र पसेर त्यसैलाई ध्वस्त पार्ने योजना असफल भएपछि रन्थनिएर देउबालाई प्रधानमन्त्री बनाउने ‘सत्कार्य’मा सामेल भए ।

हुन त प्रचण्ड जनताको बहुदलीय जनवाद र एमालेको लोकपृयतालाई चन्द्रमाको प्रकाश छेक्ने ग्रहणको रुपमा प्रतिक्रियावादीबाट प्रयोग हुदै आएका छन् । एमालेसॅग पार्टी एकता गरे पनि प्रचण्ड पार्टी एकताको भावनाअनुसार चलेनन् ! बरू एमालेको सर्वाधिक लोकप्रिय सिध्दान्त जनताको बहुदलीय जनवादलाई कसरी विद्रुप पार्न सकिन्छ भन्ने ध्याउन्नमा लागे । जननेता मदन भण्डारीको योगदानलाई छॅायामा पार्ने र नेपालको कम्युनिष्ट पार्टीको वैचारिक नेतृत्व आफूलाई बनाउने योजनाका साथ पार्टीमा मन्द विष प्रवाह गर्न थाले !

सांगठानिक एकता असरल्ल हुदै एमालेको गुटमा खेलेर पार्टीमा रातारात हाबी हुने दुस्प्रयास गरिरहे । आफूले पाउनु पर्ने भागको लागि पौंठेजोरी खेलिरहे, मुख्य नेतृत्वलाई घेराबन्दी गरे, फजुल आरोप लगाए, पार्टीको लामो जीवनमा इमान्दार र निष्कलंक छवि बनाएर पार्टीको शीर्ष स्थानमा पुगेका एमाले नेताहरूलाई बेजोड भडकाए, पार्टी नेतृत्वविरूद्ध सडकमै ओराले ।

एमाले र माओवादीको पुनरोदय भएको महिनौं वितिसक्दा पनि प्रचण्ड एमालेविरूद्ध एमालेकै नेतालाई चिमोट्न छाडेका छैनन् । एमाले मिल्न लाग्यो भन्ने खबर चुहियो कि उनलाई निन्द्रा पर्दैन, उकुसमुकुस हुन्छ । प्रचण्ड एमाले फुटाउन आकास-पाताल जोडिरहेका छन् भन्ने सम्पूर्ण एमालेजनलाई जानकारी भईसक्दा पनि उनको यो हर्कत रोकिएको छैन ।

विगतमा माओवादी विद्रोह चलिरॅहदा उनको प्रमुख नीति थियो-शत्रुको ढाडमा टेकेर टाउकोमा हान्ने । अहिले पनि उनी त्यही नीतिमा अडिग देखिन्छन् । अहिले उनको प्रमुख शत्रु एमाले हो र यसको ढाड(माधव नेपाललगायत)मा टेकेर टाउको(के पी शर्मा ओली) माथि प्रहार गर्दैछन् ।

हिजो साविक नेकपा हॅुदा केही भ्रम भए पनि, फरक शक्ति सन्तुलन भए पनि अहिले परिस्थितिमा पूरै फेरवदल आईसकेको छ ! कोही एमालेको नेतालाई विहानै वेलुकै एमाले फुटाउन चिमोट्दैमा एमाले फुट्दैन ! पार्टी अध्यक्ष के पी शर्मा ओलीको लचकता, दोश्रो तहका नेताहरूको सुझबुझ र परिपक्वता, माधव नेपालको निरीहता आदि कारणले एमाले एक ढिक्का भएर नेपाली राजनीतिको गुमेको बागडोर पुन: प्राप्त गर्ने अवस्था बन्दै गएको छ ।

प्रचण्डको राजनीति दीर्घकालिक जनयुद्ध मार्फत् चीनमा झैं नेपालको सम्पूर्ण सत्ता क़ब्ज़ा गर्ने योजनाकारको रूपमा शुरू भएको थियो ! ‘ खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने’ संसदीय व्यवस्था मासेर नौलो जनवादी गणराज्य नेपाल बनाउने ‘महान् नेता’ को रूपमा उदय भएको थियो । तर उनको राजनीतिको उत्तरार्द्ध पूँजीवादी संसदीय व्यवस्थाका अनवरत अनुयायी नेपाली कांग्रेसको सारथीको रूपमा मात्र रहने निश्चित भएको छ ।

कुनै उथल-पुथल नभए नेपालको राजनीति हाल दक्षिणपन्थी र वामपंथी दुई कित्तामा विभाजित छ । निर्वाचनमा मतदाता सोहीवमोजिम बॉडिने निश्चित छ ! सर्वहारा श्रमजीवीको सत्ता ल्याउन विगतमा हजारौं नेपाली जनतालाई युद्धको भुंग्रामा हालेका, सामन्तवाद र साम्राज्यवादी-पूँजीवादी राज्यसत्ताको उच्छेद गर्न तम्सेका प्रचण्डको यस्तो पतन देखेर माओवादी मतदाता कति आजित हुँदाहुन् ! आगामी चुनावमा कसरी पुनर्विचार गर्दा हुन् ! भारतविरूद्ध सुरूंग युद्ध गर्न तम्सने प्रचण्डको हालको भारतप्रति त्वम् शरणम् नीति माओवादी वृतमै कति आलोचित हुँदो हो !

यतिचाहिँ ढुक्कले भन्न सकिन्छ- उग्र बामपन्थ उग्र दक्षिणपन्थमा परिणत हुन्छ भन्ने भनाइ प्रचण्डले राम्ररी सिद्ध गरिदिएका छन् !

-दैनिकनेपालबाट

प्रतिक्रिया दिनुहोस्