प्रचण्ड जी भारतीय कम्फर्टेबलको बारेमा सोच्न बन्द गर्नुहोस्

-सन्दिप खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-माधव गुटका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राइम एचडी टेलिभिजनको कार्यक्रममा ऋषि धमलाले लिएको अन्तरवार्तामा आफुहरु, जसपा र नेपाली काँग्रेससँगको समीकरणबाट भारतलाई कम्फर्टेबल (सहजता) हुने गरि सरकार निर्माण गर्ने कुरा बताए सँगै आम नेपालीहरु यो अभिव्यक्तिबाट नराम्रोसँग झस्किएका छन् ।

प्रचण्ड-माधव गुटका कारण फेरि देशमा वैदेशिक हस्तक्षेपले चरमरुप लिने हो कि भन्ने आशंका पनि बढ्न थालेको छ । स्विकार गर्नुस या नगर्नुस प्रधानमन्त्री केपी शर्मा ओली प्रथमपटक प्रधानमन्त्री बन्नुभन्दा अगाडि सचिव र राजदुत समेत भारतको इन्ट्रेस्टमा चयन गर्नुपर्ने नेपालको बाध्यता थियो । उहाँको कार्यकाल प्रारम्भ हुनासाथ भारतले लगाएको अमानवीय नाकाबन्दी सँग लड्नुका साथै भारतको नेपाली राजनीतिमा रहेको माइक्रो म्यानेजमेन्टलाई समेत भताभुङ्ग बनाइदिनु भएको कुरा कहि कतै लुकेको छैन । भारत वेष्ठित मुलुकको रुपमा रहेको नेपाललाई उत्तर चीनसँगको तिनवटा बन्दरगाह प्रयोग गर्न पाउने ब्यापारमा सहजिकरणका लागि चिनियाँ पर्यटक भित्र्याउने लगायतका विभिन्न बिषयमा सम्झौता भएसगै नेपाल भूपरिवेष्ठित मुलुक भन्दा माथी उठ्न सफल भएको छ ।

बन्दै गरेका र बनिसकेका विभिन्न नाकाहरुमा नेपालको उत्तर दक्षिण राष्ट्रबिचको सिधा सम्पर्कबाट उत्तर दक्षिणबिच सन्तुलन कायममात्र भएको छैन, तीन पटक सम्म आर्थिक नाकाबन्दी गरेको भारतले अब नेपाललाई पुनः नाकाबन्दी लगाउने कुराको कल्पना सम्म गर्न नसक्ने अबस्थामा पुगिसकेको छ । अब नेपाललाई पेलेर होइन सहमतिमा नै अगाडि लानुपर्छ भन्ने जबर्जस्त मान्यता पनि स्थापित गराउन प्रधानमन्त्री ओली सफल हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यस्तो दूरदर्शी कामको लागि आमनागरिकको तर्फबाट समेत उहाँलाई सलाम छ।

हरेक नेपालीको एउटा चाहाना छ त्यो हो राष्ट्रिय स्वार्थमा केन्द्रित सरकार । जुन सरकारले  नेपाली जनताको हितलाइ प्राथमिकतामा राखेर काम गरोस, जनताका सामान्य आकांक्षाहरुलाई सहजरुपमा पूरा गरोस र वैदेशिक शक्तिको क्रिडास्थलको रुपमा रहेको देशलाई उक्त चङ्गुलबाट मुक्त गरोस भन्ने नै हो ।  देशमा स्थायित्व प्राप्त होस, देशमा नै रोजगारिको अबसर प्राप्त होस, सामान्य आबस्यकता पूरा गर्न युबाहरु बिदेशिन नपरोस भन्ने नै हो ।

भारतको सहयोगमा १२ बर्ष जनयुद्ध संचालन गरेर हजारौ नेपाली जनतालाई बलिदान दिन लगाएर आफू, आफ्नो परिवार र शीर्ष नेताहरु भारतीय भुमिमा संरक्षण प्राप्त गरेर बसेका थिए । हजारौ नेपालीहरुको नरसंहार गरेर उक्त दोषबाट भाग्न कथित जनयुद्धको उपलब्धि भन्दै  बिदेशिको एजेन्डाहरु संविधानमा समाबेस गरेर व्याख्या गर्न खोज्नु अझै पनि आफ्नो मालिक भारतलाई खुसि बनाउन र आफू दास बनेर रिझाउने कोशिसमा रहेको कुरा प्रष्टै भइसकेको छ ।

प्रचण्ड भित्र देशमा अस्थिरता ल्याउने जुन स्वभाव छ त्यो उक्त अन्तरबार्ताबाट छताछुल्ल भइसकेको छ । प्रचण्डको उक्त भनाईबाट जनताहरु चिन्तित हुनुका साथै अचम्ममा समेत परेका छन् । सुषुप्त अबस्थामा रहेको आम जनताको बोली समेत अब प्रधानमन्त्री केपी ओलीको बिकल्प अन्य खोज्नु हुदैन भन्ने निष्कर्षमा जनता पुगिसकेका छन्।

त्यसैले प्रचण्डका यस्ता बहुरुपी र भस्मासुर प्रबृतीलाई अन्त्य नगरेसम्म देशले काचुली फेर्न सक्दैन भन्ने कुरा जनताले बुझिसकेका छन् । अब पनि प्रचण्ड प्रबृती हाम्रो देशमा दोहोरिरहने हो भने नेपाल सिक्किम बन्न तयार भए हुन्छ । प्रचण्डको यस्ता लेन्डुपे प्रबृतीबाट देशलाई कसैले जोगाउन सक्छ भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् । हाम्रो देशको सार्बभौमसत्ता, अखन्डता, धर्म, सस्कृती र इतिहास जोगाउने  ओलि नै हुन ।

त्यसैले अब प्रधानमन्त्री ओलीलाई कमजोर बनाएर होइन अझै शक्तिशाली बनाएर हिड्नुपर्ने आजको आबस्यकता हो । आम सर्बसाधारणले समेत हातमा हात काधमा काध मिलाउदै बर्तमान सरकारलाइ साथदिनु पर्छ । आजको आबस्यकता पनि येहि हो देशले खोजेको जिम्मेवार नागरिकको कर्तव्यबोध पनि यहि हो । जनताले अब एकै स्वरमा, हातमा हात मिलाई, काँधमा काँध मिलाई आजको लागि होइन भोलिको लागि अबको दस बर्ष प्रधानमन्त्री केपि शर्मा ओलीलाई यस देशको प्रधानमन्त्री बनाउन अठोट लिनु पर्ने अवस्था आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्