मध्यपुर अस्पतालमा सुत्केरी महिलाको मृत्यु

भक्तपुर : भक्तपुरको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचारका क्रममा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी–१५, विजयखर्क घर भई हाल चाँगुनारायण नगरपालिका, ताथली बस्दै आएकी ३५ वर्षीया तारा घिमिरे बास्तोलाको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु पछि मध्यपुर अस्पताल दिनभर तनावग्रस्त रहेको थियो ।

असोज २८ गते मंगलबार नियमित प्रसूति परीक्षणपछि डेलिभरीका लागि अस्पतालमा भर्ना भएकी ताराले असोज २९ गते बिहान सामान्य डेलिभरीमार्फत छोरीलाई जन्म दिएकी थिइन्। तर डेलिभरीपछि अत्यधिक रक्तश्राव भएपछि चिकित्सकहरूले अपरेशन गरी उनको गर्भाशय फालेको आफन्तलाई जानकारी दिएका थिए ।
अपरेशनपछि पनि स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि केही घण्टामै उनको मृत्यु भएको परिवारजनले बताएका छन्।
परिवार र आफन्तहरूले भने चिकित्सकको लापरबाहीकै कारण सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै शव उठाउन अस्वीकार गरेका थिए। उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषी चिकित्सकमाथि कानुनी कारबाही र क्षतिपूर्ति नदिएसम्म शव नउठाउने अडान लिएका थिए।
अस्पतालले भने उपचारमा कुनै लापरवाही नगरेको, अत्याधिक रक्तस्राव (bleeding) का कारण भएको Hypovolemic shock का कारण ती महिलाको निधन भएको रिपोर्ट दिएको थियो ।
बुधबार दिउँसो मृतकका आफन्त र अस्पताल प्रशासनबीच क्षतिपूर्ति दिने सहमति भएपछि मात्र आफन्तहरूले शव उठाएका छन्। सहमति पत्रमा के के कुरा उल्लेख भए त्यो भने खुलाईएको छैन ।
प्रतिक्रिया दिनुहोस्