“जनताको बहुदलीय जनवाद: आजको सन्दर्भ र आवश्यकता” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भक्तपुर – नेकपा (एमाले)का संस्थापक महासचिव महान नेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद विषयमा शनिबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
नेकपा एमाले सूर्यविनायक नगर कमिटी भक्तपुरले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिका भित्र रहेका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। प्रतियोगितामा वक्ताहरूले जनताको बहुदलीय जनवादको ऐतिहासिक उत्पत्ति, सिद्धान्तगत आधार, लोकतन्त्रसँगको सम्बन्ध र वर्तमान राजनीतिक परिस्थितिमा यसको आवश्यकता बारे धाराप्रवाह प्रस्तुतिहरू गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व सांसद महेश बस्नेतले कार्यक्रम उद्घाटन गर्नु भएको थियो । सम्बोधनको क्रममा नेता बस्नेतले “जनताको बहुदलीय जनवाद केवल सैद्धान्तिक अवधारणा मात्र होइन, यो नेपालको राजनीतिक यात्रामा एक मार्गदर्शक दस्तावेज हो। आजको पुस्ताले यसबारे बहस गर्नु नेपालका लोकतान्त्रिक मूल्य र भविष्यका लागि सकारात्मक कदम हो।”
नेता बस्नेतले जनताको बहुदलीय जनबाद भनेको क्रान्तिकारी बिचार हो र यो बिचार दलाल र भ्रस्टाचार विरुद्ध हो । सरकारले भ्रस्टाचारबिरुद्ध थुप्रै काम गर्दै आएको छ चाहे त्यो ललिता निवास प्रकरण होस् वा सहकारी प्रकरण होस् सबैलाई कारवाहीको घेरामा ल्याएको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा नेकपा एमाले बागमती प्रदेशका सचिवालय सदस्य शशी जंग थापाले सबै राजनीतिक दलहरूको आ- आफ्नो सिद्धान्त वा लक्ष्य (भिजन) हुन्छ त्यस्तै नेकपा एमालेको आफ्नो भिजन रहेको बताउनु भयो । बहुदलीय प्रतिस्पर्धा मार्फत सामाजिक रूपान्तरण गरेर समाजवादको लक्ष्य पूरा गर्नु नै जबजको मर्म रहेको बताउनुभयो । जबज बोकेकै कारण नेकपा एमाले अहिले नेपालकै सबै भन्दा ठुलो कम्युनिष्ट पार्टी रहेको उल्लेख गर्नु भयो ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले नेकपा एमालेले जनताको बहुदलीय जनवाद बोकेकै कारण अहिले एमाले दक्षिण एसियाकै सबैभन्दा ठुलो कम्युनिष्ट पार्टीको रुपमा रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा न्यायाधीश मण्डलले तर्कसंगत प्रस्तुति, भाषण कौशल र तथ्यको आधारमा विजेता छनोट गरेको थियो। वक्तृत्वकला प्रतियोगिताको न्यायाधीश मण्डलका प्रमुख निर्मल भट्टराईले इन्दिरा उपाध्यायलाई प्रथम, भीमसेन गिरीलाई दोश्रो र थिर बहादुर कार्कीलाई तेश्रो घोषणा गर्नु भएको थियो । प्रथम, दोश्रो र तेश्रो बिजेताले क्रमस रू ५०००, ३००० र २००० नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै स्वेना थापा मगर र राम कुमार कार्कीलाई सान्त्वना पुरस्कार स्वरूप रू १००० नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो। ।
कार्यक्रम आयोजक नेकपा एमाले सूर्यविनायक नगर कमिटीका अध्यक्ष राजु लुबन्जार श्रेष्ठले अनुसार यस्तो प्रकारका वादविवाद प्रतियोगिताले विद्यार्थीहरूलाई राजनीतिक चेतना, आलोचनात्मक सोच र वाद–विवाद संस्कृतिप्रति आकर्षित गर्ने मात्र नभई, लोकतन्त्र र बहुदलीय व्यवस्थाप्रति आस्था जगाउन पनि महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले “जनताको बहुदलीय जनवादले नेपाली समाजलाई वैचारिक स्पष्टता दिएको छ”, “आजको परिस्थितिमा यसको पुनः अध्ययन र व्यवहारिक कार्यान्वयन आवश्यक छ” जस्ता धारणा राखेका थिए।







