भक्तपुरवासीले उपचारको निम्ति साँगा वा मनोहरा कट्नु पर्दैन : मन्त्री थापा

भक्तपुर – बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उपचारको निम्ति अब भक्तपुरवासीले साँगा वा मनोहरा कट्नु नपर्ने बताउनु भएको छ ।
मङ्गलवार चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालमा अवस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयको ६७ औ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि मन्त्री थापाले भक्तपुरवासीले उपचारको निम्ति अब साँगा वा मनोहरा कट्नु नपर्ने बताउनु भएको हो ।
प्रादेशिक अस्पतालबाट नै आवश्यक सबै उपचार उपलब्ध हुने भएकाले अब अस्पताल खोज्दै काठमाडौँ जानु नपर्ने बताउनुभयो । उहाँले २०८१ देखी आफू बागमती प्रदेशको स्वास्थ्य मन्त्री भएपछि विद्यार्थीको प्राथमिक उपचारको निम्ति विद्यालयमा रहेका नर्सहरूको सङ्ख्या बढाउँदै लगेको समेत बताउनुभयो ।

मन्त्री थापाले प्रादेशिक अस्पतालबाट सिटी स्क्यान, डिजिटल मेमो ग्राम, डाएलाइसीस लगायतका सेवाहरू लिन सकिने बताउनुभयो । उहाँले पैँतिस सय तिरेर एक वर्ष सम्म स्वास्थ्य सेवा लिन सकिने बताउनु भयो ।
अब बागमती प्रदेशका कुनै पनि क्षेत्रबाट ५० मिनेट भित्र स्वास्थ्य चौकी पुग्न सकिने अवस्था आइसकेको मन्त्री थापाले बताउनुभयो । उहाँले भक्तपुरमा रहेका ख्वप अस्पताल, कोरियन अस्पताल र सूर्यविनायक नगर अस्पताललाई आवश्यक पर्ने बजेट समेत व्यवस्थापन गरेको बताउनुभयो
मन्त्री थापाले रोग लाग्न नदिन अब योग, प्राणायाम, साधना र व्यायाम पनि सुरु गर्न लागेको बताउनुभयो । योग, प्राणायाम, साधना र व्यायाम का निम्ति माइक र स्पिकर समेत उपलब्ध गराउने तयारीमा प्रदेश सरकार रहेको जनाउनुभयो । समयमा स्वास्थ्य परीक्षण नहुँदा धेरैको अकालमा मृत्यु हुने गरेकोमा अब समुदाय स्तरमा स्वास्थ्य चेक जाँच गर्ने र घर घरमा स्वास्थ्य कर्मी र नर्स खटाउने काम प्राथमिकताका साथ अगाडी बढाउँदै लगिने मन्त्री थापाले बताउनु भयो ।

विद्यालयको वार्षिकोत्सवमा मन्त्री थापाले श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयकी छात्रा गोमा श्रेष्ठलाई ४ जिपिए ल्याएकोमा बधाई दिनुका साथै विद्यालयको व्यवस्थापन समिति र त्यहाँ कार्यरत शिक्षक शिक्षिकाहरूलाई समेत धन्यवाद ज्ञापन गर्नु भएको थियो । मन्त्री थापाले शिक्षाको गुणस्तरीय विकासमा यस्ता उत्सवले महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। विद्यालयको वार्षिक उत्सव केवल मनोरञ्जन मात्र नभई विद्यार्थीको प्रतिभा, सृजनशीलता र आत्मविश्वासको प्रदर्शन गर्ने माध्यम पनि रहेको बताउनुभयो ।
श्री महेन्द्र ग्राम माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता रहेको थियो।
उत्सवमा नृत्य, गीत, नाटक, वक्तृत्वकला, चित्रकला तथा खेलकुद प्रदर्शनजस्ता विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले नेपाली संस्कृति, राष्ट्रियता र समसामयिक विषयवस्तुलाई आत्मसात् गर्दै प्रस्तुत गरेका कार्यक्रमले उपस्थितलाई मन्त्रमुग्ध पारेको थियो।

कार्यक्रमको अन्त्यमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरू, उत्कृष्ट शिक्षक तथा शिक्षिकाहरूलाई सम्मान पत्र र पुरस्कार प्रदान गरिएको थियो। साथै, विद्यालयका प्रधानाध्यापक सोम कुमार श्रेष्ठले विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा र सर्वाङ्गीण विकासलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो।







