बंगलादेशमा आरक्षणको विरोधमा उग्र प्रदर्शन
ढाका – बङ्गलादेशमा उग्र प्रदर्शन बढ्दै गएपछि सरकारले मोबाइल इन्टरनेट बन्द गरेको छ ।
आरक्षणको विरोधमा देशभरका लाखौ जनता सडकमा ओर्ले पछी उग्र बन्दै गएको आन्दोलन रोक्न सरकारले मोबाइल इन्टरनेट नेटवर्क बन्द गर्न आदेश दिएको हो ।
आन्दोलनका क्रममा हालसम्म नौ जनाको ज्यान गएको र नागरिकको सुरक्षा सुनिश्चित गर्न मोबाइल इन्टरनेट बन्द गरिएको दूरसञ्चारमन्त्री जुनाइड अहमद पलकेले जानकारी दिनुभएको छ ।
सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा लडेका सेना र कर्मचारीको परिवारका सदस्यहरूका लागि सरकारी रोजगारीमा आरक्षण छ । ३० प्रतिशत सरकारी रोजगारी आरक्षणमै जाने गरेको छ । तर यो प्रणालीले प्रधानमन्त्री शेख हसिनाका समर्थक र उनको दल अवामी लिगका कार्यकर्तालाई मात्रै फाइदा पुगेको भन्दै आन्दोलन शुरु भएको हो । सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले हप्तौँदेखि विरोध गर्दै आएका छन् ।
प्रदर्शनका कारण बङ्गलादेशका सबै विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ ।
प्रधानमन्त्री हसिना निरङ्कुश बनेर आन्दोलनलाई दमन गरेको भन्दै विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टीले बङ्गलादेश बन्दको आह्वान गरेको छ । बन्द सफल बनाउन जेसुकै कदम चाल्ने उसको चेतावनी छ ।