निर्वाचन परिणामले भाजपा र मोदीलाई झडका

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) लोकसभा निर्वाचनमा बहुमत ल्याउन असफल भएको छ ।
बहुमत गुमाएसँगै पछिल्लो दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यस पटक भने सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूमा निर्भर हुनुपर्ने बाध्यता आइलागेको छ । अब मोदीको राजनीति बिहारका नितिश कुमार र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुजस्ता नेताको मन र मतमा निर्भर रहने भएको छ ।
अप्रिल १९ बाट प्रारम्भ भएको भारतको लोकसभा चुनावमा होमिँदै गर्दा मोदीले ‘अबकी बार चार सय पार’ को नारा दिनुभएको थियो । उहाँले भाजपा एक्लैले ३ सय ७० र भाजपाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले चार सय सिट पार गर्ने दाबी गर्दै आउनु भएको थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको निधनपछि सन् १९८४ मा भएको लोकसभा निर्वाचनमा राजीव गान्धीको नेतृत्वमा कंग्रेसले ४ सय १४ सिट ल्याएको थियो ।
यसपटकको निर्वाचनमा पनि बहुमत ल्याएर लगातार तेस्रो पटक प्रधानमन्त्री बनेर जवाहरलाल नेहरूको रेकर्ड तोड्ने मोदीको दाबी थियो । त्यस्तै चार सय सिट कटाएर गान्धीको रेकर्डलाई बराबरी गर्ने उहँको योजना थियो । तर परिणामले भाजपा र मोदीलाई झडका लागेको छ ।
भारतीय निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार भाजपाले २ सय ४० सिट जितेको छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ चाहिन्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९३ सिट जितेको छ । त्यसमा आन्ध्रप्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारको नितिश कुमारको जनता दल युनाइटेडले १२ सिट जितेको छ । मोदीलाई प्रधानमन्त्री बन्न नायडु र नितिशको भर छ ।
२००५ देखि नै बिहारका मुख्यमन्त्री रहेका नितिशले अहिलेसम्म ९ पटक सहयोगी परिवर्तन गर्नुभएको छ । यसपालि नितिश वा नायडुलाई सरकारको नेतृत्व दिएर मोदीको भाजपालाई सत्ताबाहिर राख्न कंग्रेसले कसरत सुरु गरिसकेको छ ।
राजनीतिक विश्लेषक राजकुमार सिंह नितिश कुमार र चन्द्रबाबु नायडुजस्ता मित्रको बलमा भाजपालाई सरकार चलाउन चुनौतीपूर्ण हुने बताउँछन । दुवै जनाको भाजपासँग मिलन मनदेखिको छैन । परिस्थितिले मात्रै उनीहरू भाजपानिकट पुगेको बिश्लेषकहरुको भनाई छ । उनका अनुसार नितिश कुमार विपक्षी गठबन्धनमै रहेको भए तथा ममता बनर्जीदेखि सबै दलबीच कसिलो एकता बनेको भए भाजपाको नतिजा योभन्दा पनि खराब आउने स्थिति हुन्थ्यो ।