| सोमवार, बैशाख १७, २०८१

ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

काठमाडौं । ताइवानको राजधानी ताइपेमा ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अधिकारीहरुले जनाएका छन् ।

पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको भूकम्पका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा केही भवन तथा सडकहरु भत्किएको देखिन्छ । भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो ।

भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । शक्तिशाली भूकम्पपछि पनि साना ठूला परकम्पहरु आइरहेका छन् । एउटा शक्तिशाली परकम्प ६ दशमलव ५ म्याग्निच्युडको गएको थियो ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्