बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ ।
स्थानीय समय अनुसार बिहीबार उहाँको ९६ वर्षको उमेरमा निधन भएको हो ।
बेलायतमा सबैभन्दा लामो समय शासन गर्नेमा एलिजाबेथको नाम पहिलो नम्बरमा आउँछ । उहाँले बेलायतमा ७० वर्ष शासन गर्नुभएको थियो ।
एलिजाबेथ सन् १९५२ मा बेलायतको महारानी बन्नुभएको थियो । उहाँको आफ्नो शासनकालमा व्यापक सामाजिक परिवर्तन आएको थियो ।
एलिजाबेथको निधनपछि उहाँको सबैभन्दा जेठो छोरा तथा वेल्सका पूर्व राजकुमार चाल्स बेलायतको नयाँ राजा हुनुहुनेछ।
“महारानीको निधन आज बालमोरलमा भएको छ”, बकिंघम प्यालेसले एलिजाबेथको निधन भएपछि जारी विज्ञप्तिमा भनेको छ ।
एलिजाबेथले आफ्नो कार्यकालमा बेलायतमा १५ जना प्रधानमन्त्री देख्नुभएको थियो । सबैभन्दा पहिलो उहाँले सन् १८७४ मा जन्मेका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलसँग काम गर्नुभएको थियो । पछिल्लो पटक उहाँले चर्चिल जन्मेको १०१ वर्षपछि अर्थात् सन् १९७५ मा जन्मेकी लिज ट्रसलाई प्रधानमन्त्रीको रूपमा देख्नुभएको थियो।
एलिजाबेथको जन्मको सन् १९२६ अप्रिल २१ का दिन लण्डनमा भएको थियो । उहाँको जन्मको नाम एलिजाबेथ एलेक्सान्ड्रा मैरी विन्डसर थियो । एजेन्सी