| शुक्रबार, चैत्र ३०, २०८०

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

वासिङ्टन, १० कात्तिक – अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले सो नयाँ युद्धविराम यही आइतबार मध्यरातिदेखि लागू हुने जानकारी दिएको छ । यसअघि पनि यी दुई देशकाबीचमा जारी द्धन्द्धको युद्धविराम भएको थियो । केही दिन अघि रुसी राजधानी मस्कोमा दुई देशबीच वार्ता भएको थियो र उक्त वार्तापछि युद्धबिरामको सहमति भएको समाचारमा जनाइएको थियो ।

अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न अन्तर्राष्ट्रिय देश र संगठनहरुको सहमतिमा यी दुई देशका बीचमा नयाँ युद्धविरामको सहमति भएको बताइएको छ । यी दुई देशका बीचमा दशकौँ देखि भूमिसम्बन्धी विवाद रही आएको छ । यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ । हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर कैयौं नागरिकले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ ।

काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो । त्यहाँ युद्ध भने जारी छ ।

रासस–एएनआई

प्रतिक्रिया दिनुहोस्