| सोमवार, असार ७, २०७८

माधव नेपालका विधि पद्दती तथा दृष्टान्तहरुको पर्दाफास

-गुरु भट्टराई

माधव नेपालका बिधि पद्धति प्रणालीका दृष्टान्तहरु उहाँकै अन्तरवार्ताबाट :-
१. वहां एकातिर भन्नुहुन्छ- निर्णय व्यक्तिले होइन पार्टीले गर्ने हो। अर्को तिर भन्नुहुन्छ- वहां (ओली) लाई उपप्रधानमन्त्री बनाउने मै हो, विद्या भण्डारीलाई वरिष्ठ मन्त्री बनाउने मै हो, गिरिजा कोइरालाई आन्दोलन पछि प्रधानमन्त्री बनाउने मै हो, शंकर पोख्रेललाई मन्त्री बनाउने मै हो, फल्नालाई मन्त्री बनाउने मै हो, तिल्नालाई मन्त्री बनाउने मै हो। (सुन्नुस राजेन्द्र बानियासंगको अन्तर्वार्ता)

२. वहां एकातिर भन्नुहुन्छ: पार्टीबाट चुनिएर आउने व्यवस्था गर्ने मै हो। चुनाव जित्नुस, आउनुस्। अर्कोतिर चुनिएर आएका ओलीलाई भन्नुहुन्छ: आफ्नो कार्यकाल भरि “डकारुन्जेल” खाने अनि छोड्छु भन्ने, छोड्ने भए अहिल्लै छोड्नुस्, महाधिवेशन हुंदैन। ए बाबा चुनिएर आउनुस् पनि भन्ने, कार्यकाल नसकी छोड्नुस् पनि भन्ने, यो के हो? महाधिवेशनबाट चुनिएको अध्यक्षले अर्को महाधिवेशनबाट छोड्छु भन्न पनि नपाउने, अहिलै छोड्नु पर्ने। आफूले तीन कार्यकाल “डकारेर” पनि फेरि “डकार्न” खोज्ने, ओलीलाई चैं एक चोटि “डकार्न” पनि नदिने, यो के हो? (सुन्नुस राजेन्द्र बानियासंगको उही अन्तर्वार्ता)

३. वहां एकातिर भन्नुहुन्छ, व्यक्तिको मनपरी चल्दैन, कमिटिको निर्णय हुन्छ। अर्कोतिर भन्नुहुन्छ: रघु पन्तलाई स्थायी कमिटिमा ल्याउनुस् भनेर कतिपटक भनें, टेर्दै टेर्नु भएन। (सुन्नुस राजेन्द्र बानियासंगको उही अन्तर्वार्ता)

४. वहां एकातिर प्रश्न गर्नु हुन्छ: पार्टीले चुनाव हारे पछि नेतृत्वबाट राजिनामा दिने कोही छ? त्यो मै हो। (सुन्नुस राजेन्द्र बानियासंगको उही अन्तर्वार्ता) अर्को तिर आफूले सकिन भनेर छोडेको त्यही नेतृत्वमा दावी गर्दै फेरि अध्यक्षमा लड्नुहुन्छ, चुनाव हारे पछि अर्को महाधिवेशन नगर्दै फेरि नेता बन्न खोज्नु हुन्छ।

५. वहां एकातिर माथि भनिए जस्तै चुनिएर आउनु पर्ने, विधि अनुसार चल्नु पर्ने भन्नु हुन्छ। अर्कोतिर महाधिवेशन त औपचारिकता मात्र हो, निर्णय त हामी नेताहरुले गर्ने हो भन्न पनि भ्याउनु हुन्छ। यहांसम्मकि बामदेव गौतमलाई जनताले हराएकोमा पनि धोका भएको घोषणा गर्न समेत भ्याउनु हुन्छ, मानौं कि जनताको मत वहांहरुको पेवा हो। अरुलाई गयो भने त्यो धोका हुन्छ। (विभिन्न पुराना अन्तर्वार्ताहरु)

६. वहां एकातिर नेताहरुको मानमर्दन र विधिको निकै गफ गर्नुहुन्छ। तर अर्को तिर विधि विपरित वरिष्ठतामा झलनाथ भन्दा आफूलाई माथि राख्दा चुपचाप बस्नुहुन्छ, अनि त्यसलाई सच्चाएर झलनाथलाई फेरि माथि ल्याउंदा चैं मानमर्दनकै गुनासो गर्नु हुन्छ। आफू माथि पर्दा विधि मिचे पनि चुप, मुनि पर्दा बिधि सच्चिएको भए पनि काईंकाई।

७. एकातिर बिधि र आचरणको गफ गर्नु हुन्छ। अर्को तिर हारेर पनि किन प्रधानमन्त्री बनेको भनेर प्रश्न गर्दा “बन्दिन भन्दाभन्दै अरुले बनाइदिए” भन्न पनि भ्याउनु हुन्छ। लोकतान्त्रिक मुल्य र मान्यताप्रति निष्ठावान भएको भए आफ्नो निष्ठा विपरित अरुले बनाइदिएर कोही प्रधानमन्त्री बन्छ? यो त अर्का विचित्रका नेता पुष्पकमलले अस्ति भर्खर “अरुले झुक्काएर राष्ट्रपतिकोमा लगे” भने जस्तै भएन र? हुन त आफैलाई “विषवृक्ष”को उपाधि प्रदान गरेका दाहालसंगको मायापिरति पनि निकै झांगिएको छ क्या रे अचेल।

८. आफ्नो सरकारको समर्थनमा बहुमत हुंदाहुंदै आफूले प्रधानमन्त्रीबाट राजिनामा दिएको कुरालाई वहां आफ्नो त्यागको गौरवगाथाका रुपमा आफै गाइरहनुहुन्छ। त्यो त्याग थिएन, असमर्थता थियो, त्याग गर्ने महानता भएको मानिसले चुनाव हारेको बेला प्रधानमन्त्री खांदैन। तथापि नहुनु प्रधानमन्त्री भैसकेपछि संसदको बहुमतको बल हुंदाहुंदै पनि समस्या समाधान गर्नुको साटो राजिनामा दिएर भागेको आफ्नै अकर्मण्यताको आफै गीत किन गाइरहनु हुन्छ होला? आफ्नो असफलतामा यसरी उत्सव मनाउने मानिस वहां बाहेक मैले अहिलेसम्म अरु कोही देखेको छैन।
वहांसंग नजिक भएकाहरु कसैले सुनाइदिए हुन्थ्यो- हजूर, जनताले पनि अलिअलि कुरा बुझ्छन्, इतिहासले पनि को कस्तो थियो भन्ने मुल्यांकन गर्छ, अलि विचार गरेर प्रस्तुत हुने कि?

प्रतिक्रिया दिनुहोस्