| बुधबार, साउन २८, २०७७

प्रधानमन्त्री ओली हटाउने भारतीय ग्राण्ड डिजाइनमा प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओली जोखिम मोल्न सक्ने, अडान राख्ने र दबेर नबस्ने नेताको रुपमा परिचित हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई जनताले रुचाएकै कारण आज प्रधानमन्त्री हुन सफल हुनुभएको छ । प्रधानमन्त्री ओलीले भारत वा अमेरिकालाई रिझाएर टिका थापेर प्रधानमन्त्री बन्नुभएको पक्कै पनि होइन ।

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चलेको गुटबन्दी र सरकार ढाल्ने खेल विदेशी इशारामा चलेको सजिलै अनुमान गर्न सकिन्छ । यसको प्रमुख कारण नै ओली सरकारले भर्खरै जारि गरेको नेपालको नयाँ नक्सा र नागरिकता विधेयक हो । नेपालले जारि गरेको नयाँ नक्साले भारतलाई तनावग्रस्त मात्रै बनाएको छैन संग-संगै दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम छ भन्ने भारतको अहङ्कार समेत नेपालले तोडेको छ । भारतले आफ्नो पकडमा रहेको नेपाली भूभाग गुम्ने खतरा र आफ्नो हार निश्चित देखे पछी प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धमा नेकपाकै उच्च तहका नेताहरुलाई उचालेको हो ।

भारतीय दादागिरी विरुद्ध एक्लै उभिएका प्रधानमन्त्री ओलीको सरकार ढाल्न ढालको रुपमा भारतीय मतियार भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख नेता नै उभिनु देश र जनताको भविष्यका लागि दुर्भाग्य हो । प्रधानमन्त्री केपी शर्मा ओली प्रथम पटक प्रधानमन्त्री हुँदा तत्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले ९ महिना मै कम्युनिष्ट सरकार ढालेको इतिहास ताजा छ र आज फेरी उनै ‘प्रचण्ड’ ले दोश्रो पटक प्रधानमन्त्री ओलीको राजिनामा मागेका छन् । जब सरकार माथी भारतीय दबाब र हमला बढ्दै जान्छ तब आफ्नै पार्टीका प्रमुख नेताहरुले प्रधानमन्त्रीको साथ छोड्ने र राजिनामा माग्ने परिपाटीका कारण देशले पटक पटक काचुली फेर्ने अवस्थाबाट बन्चित हुनु परेको छ ।

नेपाली इतिहासमा राजा वीरेन्द्र र प्रधानमन्त्री ओली नै यस्ता राष्ट्रवादी व्यक्तित्व हुन् जसले आफ्नो कार्यकालमा भारतको नाकाबन्दी खेप्नु परेको थियो । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व सम्हाले संगै नेपालमा भारतको दखलअन्दाजी र प्रभाव पहिले भन्दा निकै कम हुँदै आएको थियो ।

नक्सा जारी गरेपछि भारत नेपालसंग बार्तामा बस्न आनाकानी गरिरहेको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले धेरै पटक वार्ताको लागी आह्वान गर्दै आएको छ । भारतले पटक पटक बेवास्ता र आनाकानी गर्नुको मुख्य अर्थ नै अहिले वार्ता नबस्ने उसको उदेश्य हो । भारत आफुले चाहेको र आफ्नो कुरा पालना गर्ने सरकारको पर्खाईमा छ । उक्त ‘यस म्यान’ सरकार बनाउनकै निम्ति अहिले नेपालको राजनीति यो चलखेल चलिरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष  प्रचण्ड अहिले अचानक मिडियामा छाएका छन् । प्रचण्डलाई अहिले अचानक प्रधानमन्त्री बन्ने भुत सवार भएको होइन । यो पनि भारतको ग्राण्ड डिजाइन अन्तर्गत नै भएको हो । प्रचण्डले विगतमा विभिन्न मिडिया तथा अन्तर्वार्तामा पटक-पटक अहिलेको सरकार ५ वर्ष केपी ओलीले नै नेतृत्व गर्नु हुन्छ भनेर भन्दै आएका थिए । तर अहिले आएर आफ्नो बोली फेर्दै मैले त्यो बेला गलत बोलेको रैछु भन्न थालेका छन् । यसबाट के बुझ्न सकिन्छ भने प्रचण्ड जस्तो व्यक्ति बोली र बचनमा प्रतिबद्ध छैनन् भन्ने कुरा जगजाहेर भएको छ । प्रचण्डको अपरिपक्क निर्णयले गर्दा देशले पटक-पटक दुरगामी क्षती र दुर्घटना व्यहोर्दै आएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाएर भारतले नेपालमा आफ्नो प्रभुत्व कायम गर्ने सोचमा छ । भारत अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाएर लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दालाई समाप्त पार्ने रणनीतिमा छ । भारतीय मिडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा र प्रचण्ड लगायतका नेताले एक्कै स्वरमा स्थाई कमिटीको बैठकमा राजिनामा माग्नु संयोग मात्रै नभई भारतीय ग्राण्ड डिजाइन अन्तर्गत नै मागेको भन्ने कुरामा कुनै दुई मत छैन । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लाई भारतले हातहतियार देखी आर्थिक सहयोग समेत गरेकै थियो । भारतले तत्कालिन माओवादीका विभिन्न नेताहरुलाई आफ्नो देशमा आश्रय समेत दिएको थियो । तत्कालिन माओवादीकै अर्का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको विगत देखी नै भारतसँग हिमचिम र भारतकै मतियार रहेको अहिले आएर सबैको सामु छर्लंग भएको छ । भारतले प्रचण्डलाई पटक पटक प्रयोग गर्दै आएको छ र अझै पनि गर्दै छ । भारतले नाकाबन्दी गर्दा समेत नगल्ने ओलीलाई वि.स. २०७३ मा काँग्रेस र भारतको साथ पाएर राजिनामा माग्ने व्यक्ति प्रचण्ड नै हुन् । आज फेरी त्यही घटनाक्रम दोहोर्याउनु प्रचण्ड स्वयंका लागि आत्मघाती हुने र जनताले फेरी प्रचण्डबाट धोका पाउने छन् । प्रचण्डले बारम्बार राष्ट्रियताको विषयमा तुसारपात गर्दा देशमा ठुलो दुर्घटना निम्तिने निश्चित छ ।

चीन सँग भएको पारवहन सन्धि र व्यापार सन्धिले भारतलाई दीर्घकालीन कडा झट्का दिए पछी त्यसको कार्यन्वयन हुने डरले नै गर्दा तत्कालिन अवस्थामा भारतले प्रचण्डलाई सहयोग गर्नु भारतको हितमा थियो । आजपनि लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतको भूभाग नेपालले आफ्नो भनिसकेको अवस्था र नागरिकता विधयेकका कारणले नै प्रधानमन्त्री ओली अहिले भारतलाई टाउको दुखाईको विषय बनेको कुरा जगजाहेर नै छ । भोली चीनबाट नेपाल भित्रिने रेल र पूर्व-पश्चिम रेल संचालनमा आएसंगै नेपाल दक्षिण एसियामै उदाउँदो मुलुकको रुपमा चित्रण हुने र भारत भन्दा अव्वल मुलुकको क्षणीमा पुग्ने पिर पनि भारतलाई उत्तिकै छ । भारत नेपाललाई कहिले अघि बढ्ने नदिने रणनीति अपनाएको कारण नै नेपालमा हुने राजनीति उथलपुथलमा भारतको प्रत्यक्ष हस्तक्षेप हुँदै आएको छ । भारतको उक्त रणनीतिलाई साथ दिने प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम जस्ता नेताकै कारण नै नेपाली जनताको भविष्य माथी पटक-पटक खेलवाड हुँदै आएको छ ।

नेपालमा राजाको पालादेखि नै नेपाल सरकारको क्याबिनेट बैठकको निर्णय हाम्रै नेपाली मन्त्रीहरुले भारतलाई खबर गर्ने चलन रहदै आएको छ । नेपाल सरकारको क्याबिनेट बैठक ४० सदस्य हुँदै ५ सदस्य सम्म पुग्दा समेत भारतलाई खबर गर्ने चलन थियो । पञ्चायतकालीन अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले क्याबिनेट बैठकमा गरेको निर्णय भारतीय दूतावास पुग्ने गरेको कुरा राजालाई समेत सुनाएका थिए । अहिले पनि क्याबिनेटको बैठकले गरेको निर्णय सुन्न र बुझ्नको लागि प्रचण्डले आफ्नो बुहारी बिना मगरलाई खानेपानी मन्त्री बनाएका हुन् । क्याबिनेट बैठकको निर्णयलाई आफ्नो अनुकुल र आफ्नो राजनीति दाउपेचमा प्रचण्ड के कसरी प्रयोग गरे त्यो बिस्तारै  समय संगै खुल्दै जाने छ ।

प्रधानमन्त्री ओलीलाई अहिले कि लिपुलेक,कालापानी, लिम्पियाधुरा छोड कि प्रधानमन्त्रीको पद छोड भन्ने भारतको मनसाय रहेको प्रष्ट छ ।

प्रधानमन्त्री ओली माथी अहिले काम गरेन, एकलौटी गर्यो या अन्य जुनसुकै आरोप लगाएपनि ति सबै आरोप मिथ्या बाहेक अरु केहि होइन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरु प्रधानमन्त्री भइसकेका व्यक्तिहरु हुनुहुन्छ । तर उहाँहरुको कार्यकाल हामीलाई सम्झना छ र ?  छैन, किनभने उहाँहरुको कार्यकालमा नेपालमा न कुनै परिवर्तन भयो न कुनै दुरगामी सोच नै छोडेर जान सक्नु भयो । अहिले नेपाली राजनीतिमा प्रधानमन्त्री ओली फेरिए, बदलिए भनेर हल्ला फिजाईएको छ । तर बास्तमा प्रधानमन्त्री ओली  फेरिएका होइनन् बरु प्रचण्डको नै नियत, बोली र बिचार फेरिएको हो ।

नेपाली नेताहरुको दुरगामी सोच, त्याग, नेपालको हितरक्षार्थ दह्रो अडान राख्ने क्षमता नभएकै कारण आज नेपाल भारतको दादागिरी, थिचोमिचो र प्रभुत्वको मुनि रहेर बस्नु पर्ने बाध्यता छ । जोखिम मोल्न सक्ने, अडान राख्ने र दबेर नबस्ने प्रधानमन्त्री ओलीलाई जनताले त् साथ दिएकै छन् तर पद र सत्ताको भोगी एउटै दलमा बसेर गुट चलाउने नेताहरुले आज भारत लगायत अन्य विदेशी मुलुकलाई फाइदा पुग्ने निर्णय गर्दै देशलाई दुरगामी रुपमा हुने गम्भीर क्षती बाहेक अरु केहि दिन सक्दैनन् ।

विदेशी स्वार्थ र विदेशी अजेण्ड निस्तेज पार्न र नेपाल र नेपालीहरुको उज्जवल भविष्यको निम्ति पनि प्रधानमन्त्री ओलीले राजिनामा कदापी दिनु हुदैन । हाम्रो राष्ट्रिय स्वाभिमान र गरिमाको निम्ति पनि सम्पूर्ण नेपालीहरुले प्रधानमन्त्री ओलीलाई आफ्नो साथ र समर्थन दिन चुक्नु हुन्न  ।

प्रतिक्रिया दिनुहोस्