| बुधबार, साउन २८, २०७७

इन्डियाले भूगोल, राजनीति र समाज, तीनै क्षेत्रमा आक्रमण गरिरहेको छ

 

हिन्दुस्तानका तीन नाम छन्– हिन्दुस्तान, भारत र इन्डिया । त्यसमा धेरै हिन्दुस्तानीलाई मनपर्ने नाम हो इन्डिया । बलिउडका फिल्म हेर्नेलाई थाहा हुन्छ जसको मुखबाट पनि ‘इन्डिया’ या ‘इन्डियन’ नै निस्किएको हुन्छ । कसैसँग भेट्दा पनि ‘आई एम फ्रम इन्डिया’ नै भन्ने सुनेको छु । अरू त अरू विहार र उत्तर प्रदेशका मित्रहरू पनि ‘आई एम फ्रम विहार, इन्डिया’ ‘आई एम फ्रम युपी, इन्डिया भन्छन् । इन्डिया शब्दसँग प्रायः सबै हिन्दुस्तानीको माया बसेको हुनाले मैले इन्डिया शब्द प्रयोग गरेको हुँ । चीनलाई अङ्ग्रेजी पढेकाले चाइना भन्ने गर्ने हुनाले मैले पनि चाइना भनेर यहाँ लेखेको हुँ । चिनियाँहरूले आफ्नो देशलाई ‘चुङ्को’ भन्छन् क्यार । अङ्ग्रेजीमा पनि ‘चाइना’ नै लेखिएको हुन्छ । तर हाम्रो देशलाई, नेपाली, हिन्दी, अङ्गे्रजी तीनै भाषामा नेपाल नै भनिन्छ । यसमा थप केही भन्नु छैन ।

                               प्रदीप नेपाल

कुनै पनि देशले सजिलै भूगोलको नक्सा फेर्न सक्दैन । जस्तै आपत् आए पनि हामी ‘दुई ढुङ्गाबीच तरुल’ को विशेषणबाट मुक्त हुन सक्दैनौँ तर विचित्रको विषयचाहिँ के हो भने दुई शताब्दी बित्दा पनि हाम्रो क्षेत्रीय राजनीति पनि तलमाथि भएको रहेनछ । उहिले पृथ्वीनारायण शाहले भोगेको र भनेको वाक्य अहिले पनि जिउँदै छ । उहाँले भन्नुभएको थियो, उत्तरका बादशाहसँग राम्रो सम्बन्ध राख्नु, दक्षिणको बादशाह महाचतुर छ, त्योसँगको सम्बन्धमा विशेष होसियारी गर्नू ।

साढे दुई सय वर्षमा पनि एउटा ठूलो क्षेत्रको राजनीतिक अवस्थामा महसुस गर्न सकिने खालको परिवर्तन नदेखिनु आश्चर्यको विषय हो । यद्यपि यसबीच यी तीनै देशको आन्तरिक जीवनमा ठूला ठूला परिवर्तन भएका छन् । इन्डियालाई बेलायतले उपनिवेशबाट मुक्ति दिएको छ । पृथ्वीनारायण शाहको पालामा बेलायती अधिकारीहरू स्वयं बेलायती संसद् मातहत रहेर इन्डियामा राज गर्थे । अहिले पनि परोक्ष रूपमा, इन्डियामाथि बेलायती महारानीको शासन छ तर बेलायती संसद्को इन्डियामा कुनै भूमिका छैन । इन्डियाले अहिले आफ्नै संसद् पाएको छ ।

उता चाइनाको अवस्था पनि उस्तै रहेन । पृथ्वीनारायण शाहको पालामा चीनमा पनि बादशाहकै राज थियो । पछि राष्ट्रवादी भनिने पुँजीपति वर्गले राजतन्त्र फालेर एउटा चीनलाई धेरै चीनमा रूपान्तरित गरिदियो । चीनको कतिपय प्रान्त शक्ति राष्ट्रकै उपनिवेश थिए । युद्ध सरदारहरू चीनलाई चोक्टा बनाएर खाइरहेका थिए । माओत्सेतुङको नेतृत्वमा चलेको चिनियाँ कम्युनिस्ट पार्टीले चीनको नक्सा फेरिदियो र चीनलाई कम्युनिस्ट बनाइदियो ।

जहाँसम्म नेपालको कुरो हो त्यो सबैलाई थाहै छ । निरङ्कुश राजतन्त्र, बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र, अनि अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र । साढे दुई सय वर्षको लामो अन्तराल सधैँ राम्ररी बित्यो भन्न पनि सकिँदैन । यो समयमा नेपाल र इन्डियाबीच लडाइँ भयो । छास्सछुस्स होइन, लगातार दुई वर्ष लड्नु परेको थियो हाम्रा बहादुर पुर्खाले इन्डियासँग । नेपालको सिमाना पश्चिममा सतलज नदीको किनारसम्म तानेका थिए पुर्खाहरूले । अहिले पनि गङ्गोत्रीमा सेनापति अमरसिंह थापाले बनाएको मन्दिर अनि काँगडामा बलभद्र कुँवरका सेनाले देखाएको बहादुरी इतिहासमा टाँसिएकै छ । पूर्वतिर नेपाल विस्तारको क्रम, टिस्टा नदीमा दामोदर पाण्डेका सेनाले खाँडो पखालेर रोकेका थिए । संसारमा कहिल्यै सूर्य नअस्ताउने साम्राज्यको पगरी पाएको बेलायतले, शक्तिले लडेर जित्न नसकिने निष्कर्ष निकालेपछि मित्रताको नाममा सुगौली सन्धि गर्दा पनि महाकाली पश्चिमको भूभागमा नेपाली राजाको शासन नरहने लेखिएको हुनाले युद्धकालमा नेपालको राज्यविस्तार महाकाली नदीको पश्चिमी किनारसम्म थियो भनेर पुष्टि गरेका छन् । महाकाली नदी साझा हो, पानी आधा आधा हो भनेर हामीले लगाएको नारा पनि गलत रहेछ । महाकाली नदी त हाम्रो मात्रै पो रहेछ ।

उता चाइनासँग पनि सधैँ शान्तिपूर्ण सम्बन्ध रहेको थिएन । कहिले नेपाल हाथ्र्यो, कहिले जित्थ्यो पनि । पछिल्लो लडाइँ नुवाकोटको उत्तरगङ्गामा बसेर गरिएको सम्झौतामा टुङ्गिएको थियो । त्यतिबेला पनि तिब्बत चीनकै भूभाग थियो । चिनियाँ दरबारका प्रतिनिधिसँग नेपाली पक्षले यो सम्झौता गरेको थियो ।

यी इतिहासका विषय भए । वर्तमान, यी तीनै राष्ट्र गणतन्त्रमा पुगेका छन् । इन्डियामा सन् १९४७ देखिको गणतन्त्र हो । चीनमा सन् १९४९ मा गणतन्त्र आयो । नेपालमा भर्खरै गणतन्त्र आएको हो । अर्को मिल्दो कुरो पनि छ यहाँ । यी तीनै मुलुक सङ्घीय गणतान्त्रिक हुन् तर राजनीतिक सम्बन्धचाहिँ २५० वर्ष पहिलेकै जस्तो छ ।

चीन–नेपालबीचको सीमा सम्बन्ध नेपाल कम्युनिस्ट पार्टीले टुङ्गो गरेको होइन । त्यो उसबेलाका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले गर्नुभएको हो । त्यसपछि यतिका वर्षसम्म नेपाल–चाइना सीमामा समस्या कहिल्यै आएन । अमेरिकाले बोकेको कथित तिब्बत विद्रोहका सन्तानहरू नेपालमा शरणार्थी भएर बस्ता पनि चीनले नेपालसमक्ष कुनै गुनासो गरेन । नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेन । राजा रहँदा पनि नेपाल–चीनबीच नमुना सम्बन्ध रह्यो । नमुना भन्नुको अर्थ के हो भने तिब्बतको भ्रमण गर्ने पहिलो राष्ट्रप्रमुख नेपालका राजा हुनु भएको थियो । राजा नरहँदा पनि नेपाल–चीनबीचको सुमधुर सम्बन्धमा कुनै उतारचढाव आएन । अहिले चीन घेर्ने रणनीति भनेर आएको एमसीसी पास गर्ने÷नगर्ने निर्णय नेपालको हो भनेर पाखा बसेको छ ।

तर इन्डिया ! भूगोल, राजनीति र समाज, तीनै क्षेत्रमा आक्रमण गरिरहेको छ । सबैभन्दा चर्को हस्तक्षेप राजनीतिमा भइरहेको छ । भारतको हस्तक्षेप हुन्थेन भने ००७ सालमै नेपालको अनुहार फेरिन्थ्यो । नेपालको मुक्ति आन्दोलनलाई दबाउन भारतको हैदरावाद भवनमा राणा प्रधानमन्त्री, राजा त्रिभुवन र भारतीय राजदूत सीपी एन सिंहले त्रिपक्षीय सम्झौता गरे । नेपाली जनताको सहमति कहाँ छ त्यहाँ ? त्यसपछि त लाजै नमानी भारतीय राजदूतले नेपालको मन्त्रिपरिषद्को बैठकमा भाग लिन थाले । सीपी एन सिंहपछिका राजदूतले के कसो गरे म केही भन्न सक्दिनँ । तर मन्त्रिपरिषद्को निर्णय सबैभन्दा पहिले लैनचौरको दूतावासमा पुग्थ्यो भन्ने जानकारी चाहिँ मैले ०३३ सालमा पाएको थिएँ सरोकारवालाबाटै । त्यतिबेला हामी ‘दुवै’ डिल्लीबजारको खोरमा कैदी भएर बसेका थियौँ ।

सबैभन्दा ठूलो प्रजातन्त्र भन्ने इन्डियाले ०१७ सालको ‘कू’ लाई पनि आफ्नो हित हुने हिसाबले समर्थन गरेको थियो । कालापानीमा सैन्य शिविर राख्न पाउने हिसाबकिताबमा इन्डियामा प्रजातन्त्र छ भन्ने विश्वासमा बसेका नेतालाई नेपालको सीमाभन्दा ५० किलोमिटरभन्दा उतै राख्ने सर्तसहित नेपालको ‘कू’ लाई समर्थन गरेको थियो ।

इन्डियाले नेपाली सीमाक्षेत्रमा आतङ्क नै मच्चाएको छ । कतै दसगजामा पिच सडक बनाएको छ । कतै सिमानामा बाँध बाँधेर नेपाली जमिनको बाली नष्ट गरेको छ । लक्ष्मणपुर, खुर्दलोटन रसियावाल, रौतहटको सदरमुकाम डुबाउने बाँध । इन्डियाले आफ्ना गोरा भाइबन्धुले जसरी नै नेपालका दर्जनौँ ठाउँ र गाउँमा अनाधिकृत कब्जा गरेको छ । नेपालभित्रै पसेर हाम्रा मान्छे मारेको छ ।

अलिकति हाच्छ्युँ आयो कि सिमानामा नाकाबन्दी गरिहाल्ने इन्डियाको बानी रहेछ । अरू नेपाली बेस्सरी रिसाए पनि मलाई यस्तो नाकाबन्दीले नेपालको हित गर्छ भन्ने विश्वास छ । कुरो प्रष्ट पारौँ, यसले आफैँ गरौँ आफैँ खाउँ भन्ने आत्मनिर्भरताको मान्यतालाई बलियो बनाउँछ भने फर्मालिन हालेको आन्ध्र प्रदेशको विषाक्त तरकारी खाएर मृत्यु हुने खतरा पनि कम हुन्छ ।

हिजोआजका इन्डियनहरू भन्न थालेछन्, हामीले नेपाललाई पालेका छौँ । यस्ता मुर्खलाई के भन्नु ? सुरक्षाका लागि गोरखा रेजिमेन्ट छ, विप्रेषणको क्षेत्रमा भन्ने हो भने इन्डियाबाट नेपाल आउने पैसाभन्दा तीन गुणा बढी पैसा नेपालबाट उता गइरहेको छ ।

(लेखक नेकपाका नेता हुनुहुन्छ ।)

गोरखापत्रबाट साभार

प्रतिक्रिया दिनुहोस्