तर राष्ट्रियसभा प्रवेश गरेर प्रधानमन्त्री बन्छु भन्ने उनको हिम्मतलाई भने मान्नुपर्छ । यो सोच्नुमात्र पनि साहसिक हो, अझ संविधान संसोधन गर्न लगाएरै प्रधानमन्त्री बन्न सक्छु भन्ने सम्मको अति बिश्वास नराखेको भएहुन्थ्यो । आखिर वामदेवले जुन हैसियत पाउनुपथ्र्यो, त्यो पाए नै । सरकारको कोटामा राष्ट्रियसभा सदस्य बन्ने नै सुनिश्चित भएको छैन ।

यो अनपेक्षित राजनीतिक विकासले केही नेतालाई नराम्रोसँग एक्स्पोज गरेको छ । वामदेवलाई अघि सारेर पूर्व एमालेमा झगडा लगाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाबमा राख्ने प्रचण्ड योजनाको तुहिएको छ । प्रचण्डको योजना थियो, ओलीबिरुद्ध गौतमलाई भड्काएपछि माधव नेपाल र झलनाथ खनाललाई समेत उक्साउने र पार्टी कब्जा गर्ने ।

प्रधानमन्त्री ओलीले अपेक्षित भूमिका नदिएको र सरकार संचालनमा आवश्यक परामर्श नगरेको बुझाईमा रहेका बरिष्ठ नेता नेपाल पनि प्रचण्डको ओली तह लगाउने षड्यन्त्रका अस्थायी सदस्य भएका थिए । अर्का बरिष्ठ नेता खनाल पनि प्रधानमन्त्रीले आफूलाई बेवास्ता गरेको भन्दै प्रचण्ड क्याम्पबाट व्यक्तिगत फाइदा पुग्ने हिसाव कितावमा थिए । अहिले पनि उनी प्रचण्डले दिएका झुटा आश्वासनमा भ्रम पालेर दोबाटोमा छन् । तर जव पार्टी एकताको भावनालाई चटक्क बिर्सेर षड्यन्त्रमा कोही लाग्छ, त्यसले हलचल चाँही ल्याउँछ तर त्यो सफल हुँदैन । पार्टी एकताको नेतृत्व ओली र प्रचण्डले गर्नुभएको हो, त्यसमा माधव नेपालको पनि त्यत्तिकै योगदान छ । त्यसबेलाको उदेश्य देशमा कम्युनिष्टको दिगो र स्थायी सरकार गठन गरी विकास र समृद्धितर्फ डोहोर्याउने भन्ने नै थियो । कांगे्रसले एकलौटी सत्ता चलाउँदा आन्तरिक द्धन्द्धमा फस्यो, विकास हुन सकेन । कांगे्रस बिकल्प कम्युनिष्ट, त्यसमा पनि एमाले, अझ नेकपा हुनुपर्छ भन्ने सोच ओलीमा थियो र भयोपनि त्यस्तै ।

ओली नेतृत्वको सरकारले दुई बर्षपुरा गर्दा देश सही ट्रयाकमा छ । सत्ताको स्वाद चाखेकाहरु बाहिरिएका छन्, तिनमा छटपटाहट छ । दलाल, बिचौलिया, खराव ठेकेदार र भ्रष्टाचारीहरु अत्तालिएका छन् । उनीहरुको एकमात्र निशाना प्रधानमन्त्री ओलीको बिस्थापनमा छ । ओलीलाई प्रतिस्थापित गरी अर्को कोही प्रधानमन्त्री बनाउन सकेमा लुटको कारोवार सूचारु गर्न पाइन्छ भन्ने हो ।

तर यो जानेर वा नजानेर पार्टीका अर्का अध्यक्ष प्रचण्ड ती स्वार्थी र दलालहरुको घेराबन्दीमा पर्नुभयो । हुनत प्रचण्ड आफैं पनि विवादास्पद ठेकेदारले दिएको घरमा बस्नुहुन्छ र उहाँका वरपर बढी यस्तै व्यापारी, ठेकदार र दलालहरु छन् ।  तिनै स्वार्थी तत्वको खेलमा उहाँले पहिला वामदेवलाई अघि बढाउनु भयो र ‘वाटर टेष्ट’ गर्नुभयो । त्यसपछि उहाँले माधव नेपाल र झलनाथ खनाललाई समेत पार्टी र सरकारको उधारो भागबण्डा गरी ओलीबिरुद्धको ध्रुब निर्माणको कोशिश गर्नुभयो र यो जारी छ ।

प्रचण्डले ओलीलाई कमजोर बनाएपछि आफूले पार्टी र सत्ता दुबै कब्जा गर्ने योजना पूर्वमाओवादीसँग शेयर गर्नुभयो । त्यसको सूचना नेता नेपालकामा समेत चुहियो । प्रचण्डको योजना थाहा पाएपछि नेता नेपाल झस्किएका थिए । आखिर अन्तत पूर्वएमालेबिच एकताको बिकल्प नभएको निश्कर्षमा प्रधानमन्त्री ओली र नेता नेपाल पुग्नुभएको छ । प्रचण्डको गोप्य खेलकुद अघि बढेको थाहा पाएपछि ओली र नेपालबीच पनि गोप्य भेटवार्ता बाक्लिएका छन् । तीन दिन यता लगातारजसो ओली र नेपालबीच वालुवाटारमा भेटवार्ता भएको छ । उता, नेता नेपालसँग खासै भेटवार्ता नगरेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले एकपटक नेपाल निवास कोटेश्वर गएर वार्ता गरेभने अर्को पटक वालुवाटारमा उहाँहरुबीच भेट भएको छ ।

वार्ताका क्रममा ओलीले आफ्नो ‘सक्सेसर’ का रुपमा नेपाललाई प्रस्तुत गर्ने बिषयसमेत छलफलमा आएको छ । यदी नेकपालाई जोगाउने हो भने प्रचण्डबाट सम्भव छैन भन्नेमा ओली र नेपाल दुबै सहमत भएको बताइन्छ । पार्टी एकता हुँदा एमालेमा तुलनात्मक निराशा बढी थियो र माओवादीले एमालेलाई समेत बदनाम गर्छन भन्ने तर्क पनि आएको थियो । अहिले प्रचण्डले थालेको गोप्यचालले त्यसलाई बल दिएको छ । पूर्वएमालेका नेता तथा अगुवा कार्यकर्ताले ओली र नेपाललाई भेटेरै मिलेर अघि बढ्न दवावसमेत दिएका छन् । यसबीचमा दुई टोलीले ओली र नेपाललाई जसरि भएपनि एकहुनुको बिकल्प नभएको सुझाउँदै आएका छन् । र, नेता नेपालले पनि त्यो महसुस गरेका छन् । प्रधानमन्त्री ओली पनि अव नेपालसँगको परामर्शमै अघि बढ्ने निश्कर्षमा पुग्नुभएको छ ।

एक एमाले नेता भन्छन्– ओली र नेपाल हिजो संकट पर्दा पनि मिलेर समाधानमा जुट्नुभएको हो । आज पार्टी यदी कसैले बचाउँछन् भने ओली र नेपालले नै हो तर मिलेरमात्र यो सम्भव छ । प्रचण्डबाट आशा राख्नुकै बेकार छ । वामदेवको मुद्दामा प्रचण्ड योजना छताछुल्ल भयो । अव चनाखो हुनुपर्छ ।