बर्षाको कारणले नेपाल र श्रीलङ्काबीचको खेल रोकियो

काठमाडौँ- आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले हुने नेपाल र श्रीलङ्काबीचको खेल बर्षाको कारणले शुरु हुन ढिला भएको छ ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा अहिले बिहान (बुधबार) नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुने भनिएको खेल बर्षाको कारणले टस समेत हुन सकेको छेन ।
यतिखेर रंगशालामा पानी पर्न रोकिएपनि मैदानमा तालिएको पानी सुकाउने काम भइरहेको छ ।
पानी परेपछि मैदानमा पाल बिच्छ्याइएको थियो तर पानी ठूलो परेकोले खेल हुन ढिला हुने जनाइएको छ ।
सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन । त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफ्नो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ ।
त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ ।
फिल्डमा जमेको पानी सुकाएर खेल सुचारु गर्न ९० मिनेट लाग्न सक्छ । नेपाली समय अनुसार खेल बिहान ७ बजे बाट सुरु हुने अनुमान गरिएको छ ।