सूर्यविनायकमा द्वितीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
भक्तपुर – सूर्यविनायक नगरपालिकामा अन्तर विद्यालय स्थानीय तह स्तरीय द्वितीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
बुधबार सूर्यविनायक नगरपालिका वडा नं १० स्थित संकटा खेल मैदानमा सुरु भएको स्थानीय तह स्तरीय द्वितीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका प्रमुख संरक्षकमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाको सभापतित्वमा शुभारम्भ गरिएको हो ।
कार्तिक २२ देखि २४ गते गरी ३ दिनसम्म सञ्चालन हुने द्वितीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सूर्यविनायक नगरपालिकाले चार करोड विनियोजन गर्दै आयोजना गरेको छ। प्रतियोगितामा १८ सामुदायिक विद्यालय, १९ संस्थागत विद्यालयबाट गरी १२०० विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका छन् ।
कार्यक्रमको सभापतित्व गर्नुभएका सुनपा ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकाले आफ्नै श्रोत साधनबाट उक्त प्रतियोगिता आयोजना गरेको बताउनु भयो । अध्यक्ष सापकोटाले देशको जनशक्ति आजको विद्यार्थी भएको बताउनु हुँदै विद्यार्थीमा रहेको विभिन्न क्षमता विकास र पहिचान गर्न विद्यालयसँग सहकार्य गर्दै नगरपालिका लागेको बताउनु भयो । उहाँले प्रतियोगितामा विजय भएका विद्यार्थी खेलाडीहरूले प्रदेश स्तरको कार्यक्रममा सहभागी हुने बताउनुभयो । प्रतियोगितामा भाग लिने सबै विद्यार्थी खेलाडीहरूले प्रमाणपत्र पाउने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले विद्यार्थीहरूमा बहु आयामिक विकास वृद्धि खेलकुद मार्फत पनि जोडिनु पर्ने बताउनु भयो । उहाँले नयाँ पुस्ताका विद्यार्थीहरूले सैद्धान्तिक मात्रै नभएर अतिरिक्त क्रियाकलापले सोच र क्षमताको विकास गर्न थप सहयोग गर्ने बताउनुभयो । आजका विद्यार्थी खेलाडीहरू भोली विश्व सँग प्रतिस्पर्धा गर्छन्, विद्यार्थीमा लुकेको छिपेको कला बाहिर ल्याउन सूर्यविनायक नगरपालिका मानवीय विकासमा अगाडि बढ्नुका साथै विभिन्न कार्यक्रम मार्फत विद्यार्थीहरूसँग जोडिँदै आएको बताउनुभयो । नगरपालिकाले दिगो विकास पुर गर्न विभिन्न कार्यक्रम ल्याउनुका साथै गर्व गर्न मिल्ने काम पनि गर्दै आएको बताउनुभयो । नगरपालिकाले मानवीय विकास पनि सँगसँगै अघि बढाउँदै लगेको र नगरको समग्र विकासमा ध्यान दिएको बताउनु भयो उहाँले शिक्षा स्तरको उन्नतिमा नगरपालिकाले गरेको कामहरू उपत्यकाका अन्य नगरपालिकाले सिक्दै गरेको बताउनुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले विद्यार्थीहरूलाई खेलकुदमार्फत स्वस्थ र स्फूर्त बनाउन सकिने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अहिले नेपालमा खेलकुद पर्यटन विकास हुँदै गएको बताउनु हुँदै देशको नाम चिनाउन खेलकुद उत्कृष्ट माध्यम भएको बताउनुभयो ।
समारोहमा जिल्ला खेलकुदका अध्यक्ष दीपक थापाले नगरपालिकाले खेलकुदको क्षेत्रलाई समेत अघि बढाउँदै लागेकोमा धन्यवाद ज्ञापन गर्नुभयो उहाँले खेलाडीहरूलाई अनुशासित भएर खेल्न र निरन्तर रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं १० का अध्यक्ष शिव राम राउतले स्वागत मन्तव्य राख्दै सम्पूर्ण विद्यार्थीलाई जितको शुभकामना दिनुभयो ।
नगरपालिकाका आर्थिक प्रमुख रत्न कटुवालले खेलकुद विकासमा नगरपालिका अहिले बामे सर्दै गरेको बताउनुभयो उहाँले खेलकुद प्रतियोगिताले विद्यार्थीहरूको बीचमा भाइचारा सम्बन्ध बनाउन मद्दत गर्ने बताउनुभयो ।
स्वास्थ्य समस्याका बाबजुद विद्यार्थीहरूमा उत्साह जगाउन सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा भक्तपुरका सशस्त्र प्रहरी प्रमुख, नगरपालिकाका सबै वडा अध्यक्षहरु, नगरपालिका कर्मचारीहरु र विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।