| शनिबार, बैशाख ८, २०८१

सिसे:क्पा कप पुरुष फुटसल प्रतियोगिता सुरु

काठमाडौं – तेस्रो संस्करणको सिसे:क्पा कप पुरुष फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ ।

याक्थुङ युवा मञ्च, जिल्ला कार्य समिति, काठमाडौंले आयोजना गरेको २ दिने सिसे:क्पा कप पुरुष फुटसल प्रतियोगिता शनिवारबाट सुरु भएको हो । काठमाडौँको शान्तिनगरमा अवस्थित शान्तिनगर फुटसलमा ‘पहिचान र अस्तित्व बचाऔँ, सम्पूर्ण याक्थुङ युवाहरू एक हौ’ भन्ने नाराका साथ तेस्रो संस्करणको सिसे:क्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९ सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण चाम्लिङले खेलकुदको क्षेत्रमा फुटसलको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । महासचिव चाम्लिङले फुटसल खेललाई व्यवस्थित गर्नु पर्ने र महिलाहरूको सहभागिता बढाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले यस्तो कार्यक्रमको आयोजना गर्दा लिम्बु युवाहरूलाई प्रेरणा मिल्ने र खेलकुद मार्फत युवाहरू समाजमा पनि जोडिने बताउनुभयो । अर्को पटक फुटसल खेल हेर्न आउँदा महिलाहरूको खेल हेर्न पाउ भन्दै इच्छा व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथिमा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङ्गबुङ्गले युवाहरूले फुटसल खेलमा आफ्नो स्थान ओगट्नमा सफल भएको बताउनुभयो । उपाध्यक्ष आङ्गबुङ्गले फुटसल खेलले एक आपसमा भावनात्मक एकता वृद्धि हुने बताउनुभयो । उहाँले तेस्रो संस्करणको सिसे:क्पा कप पुरुष फुटसल प्रतियोगिता भव्यतापूर्वक सम्पन्न होस् भन्दै शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रमका सभापति याक्थुङ युवा मञ्चकी अध्यक्ष सङ्गीता सुहाङ्गले फुटसल प्रतियोगिता आयोजना गर्नुको मूल उद्देश्य युवाहरूबिच आपसी  सद्भाव, भावनात्मक एकता, समन्वयन, साथ सहयोग तथा मैत्रीपूर्ण समझदारी कायम गर्नु हो । अध्यक्ष सुहाङ्गले फुटसल खेलमा लिम्बु युवाहरूको आकर्षण बढ्दै गएको र फुटसल मार्फत लिम्बु समुदायले यस क्षेत्रमा योगदान रहिरहने बताउनुभयो ।

उक्त प्रतियोगिता लिगका आधारमा सञ्चालन गरिएको छ । प्रतियोगिताको विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र उत्कृष्ट खेलाडीले रु ५ हजार पाउने छन् । दुईदिनसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न ४५ वटा फुटसल टोलीहरूले सहभागिता जनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्