काठमाडौँ – राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यो जितसँगै एपिएफ पाँच खेलमा चार अङ्क जोड्दै लिगको ११औँ स्थानमा उक्लेको छ ।

एपिएफको जितमा आशिष लामाले दुई गोल गरे भने बिक्की तामाङले एक गोल गरे । पराजित फ्रेन्ड्सका लागि भने प्रिजेन तामाङले एक गोल फर्काए । एपिएफले खेलको ३०औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता लियो । कप्तान नवीन लामाको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट बिक्कीले उत्कृष्ट गोल गरे । खेलको ३२औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए । कप्तान नवीन लामाकै पासमा उनले गोल गरेका थिए ।

त्यस्तै खेलको ५६औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाए । खेलको ६९औँ मिनेटमा प्रिजेनले पेनाल्टीमा गोल एक सान्त्वना गोल फर्काए । एपिएफका दिपेश धिमालले पेनाल्टी एरियाभित्र जमुल एन्थोनीलाई फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । पाँच खेल खेलेको फ्रेन्ड्स दुई अङ्कका साथ लिगको अन्तिम स्थानमा छ । खेलमा एपिएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए ।

रासस