| बिहिबार, मंसिर १६, २०७८

ललितपुरमाथि काठमाडौंको शानदार जित

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनले विजयी यात्राको सुरुवात गरेको छ ।  काठमाडौंले साविकको विजेता ललितपुर प्याट्रीएट्समाथि ७ विकेटको जित हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा ललितपुरले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा काठमाडौंले  ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

काठमाडौंका लागि जिम्बाबेका स्टार रायन बर्लले ३४ बलको सामना गर्दै अविजित ७३ रनको योगदान दिए । उनले एकै ओभरमा २८ रनसमेत बनाउन सफल भए । त्यस्तै, अफगानिस्तानका रहमानउल्लाह गुर्बजले अर्धशतक प्रहार गरे । उनले २४ बलमा अर्धशतक पूरा गर्दै ५९ रनमा क्याच आउट भए । साथै राजु रिजालले १९ रन बनाए  ।

ललितपुरका लागि पवन सर्राफले मात्र १ विकेट लिए ।

त्यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको साविक विजेता ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेका थियाे । खराब सुरुआत गरेको ललितपुरका लागि पाँचौं नम्बरमा ब्याटिङमा आएका पवनले योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी गर्दै ४४ बलमा ५ चौका र ४ छक्कासहित ६१ रनको महत्त्वपूर्ण इनिङ खेले । ललितपुरका लागि योगेन्द्र कार्कीले २० बलमा ३ छक्कासहित ३३ रन जोडे ।

ललितपुरका ओपनर कुशल भुर्तेल गोल्डेन डक हुँदा सान्डुन भिराक्कोडी २ रनमा पेभेलियन फर्केका थिए । यस्तै शंकर राना १४, मिक्यो दोर्जी १७ र ललित राजवंशी शून्यमा अविजित रहँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

काठमाडौंका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । आफ्नो कोटाको पूरा चार ओभरमा १८ रन मात्रै खर्चेका जितेन्द्रले काठमाडौंका लागि किफायती बलिङ गरे । त्यस्तै, रायन बुर्लले २ तथा गुल्शन झाले २ विकेट लिए । काठमाडौंका कप्तान सन्दीप ४ ओभरमा ४४ रन खर्चेर विकेटविहीन रहे । पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीले ४ ओभर बलिङ गरेर ३२ रन खर्चिँदा विकेट लिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्