अध्यक्ष ओलीको सुरक्षार्थमा खटिएका इन्स्पेक्टरको मृत्यु

भक्तपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षार्थमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु घर भएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको आज शनिवार बिहान आफ्नै निजी निवासमा मृत्यु भएको हो ।

इन्स्पेक्टर थापाको असामयिक निधन प्रति एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्नुहुँदै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । अध्यक्ष ओलीले इन्स्पेक्टर थापा धेरै नबोल्ने, लजालु स्वभाव भएको र काममा जहिले पनि तम्तयार रहने गरेको उल्लेख गर्नु भएको छ ।

पूर्वमन्त्री एवं नेकपा (एमाले)का पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले आफ्नै छिमेकी थापाको निधनले एक असल छिमेकी र गुण्डुले राम्रो युवा गुमाउनुपरेको भन्दै शोक व्यक्त गर्नुभएको छ ।

त्यस्तै बागमती प्रदेशसभा सदस्य किरण थापाले हिजोमात्रै उनीसँंगै बोलेर गएको तर आज मृत्युको खबरले दुःखी बनाएको भन्दै अकल्पनीय दुःखद् घटनाले मर्माहत बनाएको बताउनुभयो । थापाको पार्थिव शरीरलाई शिक्षण अस्पतालमा शव परीक्षणपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको र पूर्वमन्त्री महेश बस्नेत, सशस्त्र प्रहरी बलका महानिरीक्षकलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको स्वकीय सचिव दिनेश थापाले जानकारी दिनुभयो ।

हिजो राति फुटबल म्याच हेर्दा अरुलाई डिस्टर्ब नहोस् भनी एक्लै सुत्न गएका उनी बिहान अचेत अवस्थामा भेटिएपछि भक्तपुर अस्पताल लगिएको थियो । इन्स्पेक्टर थापाको निधनको खबरले दुखी हुनु भएका अध्यक्ष ओलीले आज कुनै पनि कार्यक्रममा सहभागिता जनाउनु भएन ।

इन्स्पेक्टर थापाको के–कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उमेरले ४३ वर्ष पुगेका इन्स्पेक्टर थापा विगत ५ महिनादेखि अध्यक्ष ओलीको सुरक्षामा खट्दै आएका थिए ।

इन्स्पेक्टर थापाको घरमा श्रीमती, छोरो र बाबुआमा हुनुहुन्छ ।

यस्तो छ अध्यक्ष ओलीको स्ट्याटस:

प्रतिक्रिया दिनुहोस्