| बिहिबार, मंसिर १६, २०७८

यस्तो रह्यो मध्यपुर थिमिको सन्ध्याकालीन सम्पदा पदयात्रा

भक्तपुर – मध्यपुर थिमि नगरपालिकाले पर्यटकलाई मध्यपूर थिमि क्षेत्र भ्रमण गराउन सम्पदाको सांस्कृतिक तथा ऐतिहासिक पक्षसमेत बुझ्ने गरी सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्राको मार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेको छ ।

साँझपख पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्दै पदयात्रा गराउने योजना सहित शुक्रवार साँझ पदयात्रामा पत्रकारहरूलाई सामेल गरी नगर प्रमुख मदन सुन्दर श्रेष्ठले सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्राको योजना अघि सार्नुभएको हो । नेपाल भित्रिएका पर्यटकहरुलाई मध्यपूरथिमि क्षेत्रमा भित्र्याउने लक्ष्यसहित सम्पदा क्षेत्रमा सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्राको कार्यक्रम अघि सारिएको मेयर श्रेष्ठले बताउनु भयो । सांस्कृतिक पर्व सकिमिला पुन्हीको अवसर पारेर सम्पदा क्षेत्रमा सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्रा प्रवर्द्धनमा सहयोग गरिदिन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभएको थियो ।

नेवार समुदायमा सकिमिला पुन्हिकाे विशेष महत्त्व छ ।कात्तिक शुक्ल पूर्णिमाको साँझ विभिन्न प्रकारका सुख्खा भुटेका गेडागुडी, सखरखण्ड, पिँडालु लगायतका खानेकुरा मन्दिर अगाडि चढाएर मौलिक बाजा बजाउँदै भजन कीर्तन गर्ने परम्परा रहँदै आएको छ । भजन सके लगत्तै सोही खानेकुराहरूलाई प्रसादको रूपमा बाँडिन्छ । सकिमिला पुन्हिको अन्तिम साँझमा मकै, भटमास, केराउ, बकुला लगायतका भुटेका गेडागुडीको विभिन्न आकार बनाएर कला प्रस्तुत गरी साङ्गीतिक माहौलमा रमाइलो गर्ने चलन चल्दै आएको छ । जसले समाजभित्रका प्रत्येक इकाईबिचको आपसी सद्‌भावलाई समेत कायम गर्न मद्दत पुर्याउदै आएको छ ।

नेपाल सम्बतको पहिलो महिनामा पर्ने सांस्कृतिक पर्व सकिमिला पुन्हीमा अन्न दिने धर्ती मातालाई धन्यवाद दिँदै साँझदेखि टोल टोलमा रहेका मन्दिरको अगाडी सोही देउताको अन्नको आकृति बनाई भजनकिर्तन गरी रमाइलो गर्ने परम्पराले आन्तरिक तथा बाहिरी पर्यटक आकर्षित गर्न सक्ने मेयर श्रेष्ठको भनाई छ। पूर्णिमाको साँझ आ-आफ्नो टोलमा आयोजना हुने भजन मण्डलीको लागि प्रत्येक घरबाट अनिवार्य रूपमा गेडागुडी, फलफूल, सखरखण्ड, पिँडालु सँगै पूजा थाली चढाउनुपर्छ । सोही खानेकुरालाई भजनकीर्तन समापन पश्चात् प्रत्येक सदस्यहरूमा बाँड्ने चलन रहँदै आएको छ ।

बिहान र दिउँसो देख्न नसकिने दृश्यहरू साँझमा देख्न सकिने र साँझ मध्यपुरथिमिका विभिन्न स्थानमा रहेका भजन मण्डलीहरूले सुमधुर धुन बजाउँदै भजन गाउने हुँदा यसले आन्तरिक र बाहिरी पर्यटकका लागि आकर्षणको केन्द्र हुने मेयर श्रेष्ठले बताउनुभयो ।

मेयर श्रेष्ठको नेतृत्वमा सञ्चारकर्मीहरूले शंखधर पार्क बाट सुरु गरेको पदयात्रा मध्यपुर थिमि नगर क्षेत्रको पुरानो बस्ती हुँदै बोडेको कुमारी मन्दिर हुँदै पुनः बालकुमारी मन्दिर परिसरमा आएर सन्ध्याकालीन साँस्कृतिक सम्पदा पदयात्रा टुङ्गिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्