| शुक्रबार, फाल्गुन २१, २०७७

मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको राष्ट्रिय सञ्जाल गठन

काठमाडौँ, ११ फागुन – विदेशमा गएर गरेको श्रमको इज्जत, पैसा पनि राम्रो कमाइने तर स्वदेशमा श्रमका कारण समाजको हेपाईमा परिने र चौतर्फी शोषणमा पनि परिने । मनोरञ्जनको क्षेत्रमा कार्यरत महिला श्रमिकले उक्त स्थितिबाट गुज्रनुपरेको यथार्थ हो । त्यस्तो परिस्थतीबाट मुक्तिका लागि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरु सङ्ठित हुने क्रम सुरु भएको छ ।

नेपालमा रात्रीकालिन व्यवसाय सहरी क्षेत्रमा पर्याप्त फष्टाउने क्रममा छन् । त्यहाँ कार्यरत श्रमिकले थोरै तलब, नियुक्तीपत्र नपाउने, विदाको व्यवस्था नभएको, तलब पनि समयमा नपाउने र व्यवसाय सञ्चालन गर्नेबाट शारीरिक मानसिक, आर्थिक यौनिक शोषण भोग्नुपर्ने समस्या समाधानका लागि श्रमिकहरुले प्रादेशिक र राष्ट्रिय सम्मेलनको आयोजना गरेर सङ्गठित भएको मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकको राष्ट्रिय सञ्जालका अध्यक्ष निरु श्रेष्ठ बताउनुहुन्छ ।

यस क्षेत्रमा काम गर्ने श्रमिक पनि यहि देशका नागरिक हुन् । सार्वभौम राष्ट्रका नागरिकले पाउने सबै हक अधिकारका उनीहरु पनि हकदार हुन् भन्ने प्रत्याभुति गराउन सङ्गठित भएर अगाडि बढ्न विश्वास नेपालले सोमवार राष्ट्रिय भेलाको आयोजना गरेको हो ।

मसाज पार्लर,पव बारलगायतका रात्रीकालिन व्यवसायमा कार्यरत श्रमिकको हक-अधिकारका लागि विश्वास नेपालले काम गर्दै आएको छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले घोषणापत्रमा यस क्षेत्रमा काम गर्ने श्रमिकको न्युनतम तलब, साप्ताहिक बिदा, सम्झौतापत्र वा नियुक्तीपत्रबारे सम्वन्धीत निकायबाट अनुगमन हुनुपर्ने, पेशालाई मर्यादित बनाउनुपर्ने, श्रमिकको तथ्याङ्क राख्ने र यस पेशालाई हेर्ने, दृष्टिकोण बदल्ने वातावरण सृजनाका लागि माग गरिएको छ ।

त्यसैगरी यस क्षेत्रका अधिकाँश श्रमिक विशेष गरी महिला र उनका सन्तान जन्मदर्ता, नागरिकताको समस्यामा रहेकोले सहयोगको सुनिश्चता हुनुपर्ने, यस क्षेत्रमा अझै पनि बालश्रम विद्यमान रहेकोले जोखिममा रहेका बालबालिकाको परिवारलाई आय आर्जजनमा सहयोग परामर्श प्रदान गर्नुपर्नेलगायत बुँदाहरु सम्मेलनले पारित गरेको छ ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक अनुराधा कोइरालाले यस क्षेत्रलाई विर्सेको वर्गका रुपमा चित्रित गर्दै श्रम गर्नेलाई सम्मानको वातावरण बन्नुपर्नेमा जोड दिनुभयो ।

स्वदेशमै श्रम गरी खानेलाई सम्मान गर्न जाने यस क्षेत्रका श्रमिक शोषणमा पर्ने सम्भावना कम हुने बताउनुभयो ।

समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले यस क्षेत्रमा काम गर्ने श्रमिक वर्गको मागको सम्वोधनका लागि सम्वन्धति निकायको ध्यानाकर्षण हुने गरी आयोग काम गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

उहाँले जागिरकै खोजीमा जोखिम मोलेर काम गर्नुभन्दा स्वरोजगारतर्फ सोच्न श्रमिकलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले सङ्गठित भएर हक हितका लागि एकजुट हुन आग्रह गर्नुभयो ।

उहाँले विदेशमा गएर घरकै काम गर्दा इज्जत र राम्रो कमाई हुन्छ भने स्वदेशमा श्रमलाई सम्मान गर्ने अवस्था नभएर यस क्षेत्रका श्रमिक जोखिममा परेको बताउनुभयो ।

मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिकको प्रदेशस्तरीय भेला पनि सम्पन्न भएको छ । यस राष्ट्रिय भेलामा सातै प्रदेशका एक पाँचजना श्रमिकको सहभागिता रहेको थियो ।

भेलाले निरु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको राष्ट्रि सञ्जालको गठन गरिएको छ ।
कार्यक्रममा विवेक शर्माले प्रदेशमा खोलिएका मनोरञ्जनका क्षेत्रमा काम गर्ने श्रमिकहरुबीच गरिएको सर्वेक्षणको तथ्याङ्क सार्वजनिक गर्दै ८५ प्रतिसतले यस पेशामा परिने वेचविखनको समस्याबारे अनविज्ञता जनाएको बताउनुभयो ।

उहाँले यस क्षेत्रमा नियुक्तिपत्र नदिने, गाली गलौज, धेरै काममा लगाएर थोरै तलबलगायत शारीरिक मानसिक र यौन हिंसालगायतलाई कामकै हिस्साको रुपमा स्वीकारेको र त्यसो हुनु भनेको हिंसामा पर्नु हो भन्नेसम्म जानकारी नभएको बताउनुभयो ।

त्यसकारण ९८ प्रतिसतलाई काममा जाँदा भएको हिंसाबारे उजुरी गर्ने निकायबारे पनि जानकारी नभएको पाइएको र धेरैजसो साथीको लहलहैमा , सानो उमेरमा भोगेर विवाह गर्दा आर्थिक समस्या परेर, सन्तानको लालनपालन र रहरले समेत यस मनोरञ्जनको क्षेत्रको काममा आउने गरेको पाइएको उहाँले बताउनुभयो ।

विश्वास नेपालमा कार्यकारी निर्देशक बालकुमारी आलेले पेशा मर्यादित र व्यवस्थित नहुँदा यसमा संलग्न श्रमिकमा जोखिममा परेको बताउनुभयो ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले काम सानो वा ठूलो हुन्न, यस क्षेत्रमा काम गर्नेले पनि सम्मानपुर्वक बाँच्न, पेशागत हक, सुरक्षाको लागि संस्थाले काम गर्दै आएको र यस क्षेत्रका श्रमिकलाई सिपमा आधारित काम सिकाउदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्