काठमाडौँ, ३ माघ – बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात (हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताउनुभएको छ ।

नेपाल बङ्गलादेश मैत्री सङ्घको आयोजनामा नेपाल बङ्गलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उहाँले काठमाडौँ– ढाका बस सेवा तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने जानकारी दिनुभयो ।

बङ्गलादेशका प्रा शेख महमुन्द एलोनले शिक्षा र स्वास्थ्यको विकासमा दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । डा जहरुल इस्लामले नेपाली विद्यार्थी मेहनती र इमान्दार रहेको जनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई लगानी बढाउन सुझाव दिनुभयो ।

प्रा डा अब्दुस सत्तरले दुई देशले भारतसँगको पनि सम्बन्ध अघि बढाएमा यातायात, कृषि, ढुवानी, वातावरणलगायत विषयमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।  डा इफ्तेखारुल हकले दुवै देशबीचको सम्बन्ध विकास व्यावहारिक रुपमा हुनुपर्ने बताउनुभयो । डा के शेल्लीले महिला अधिकार र गरीबी उन्मूलनमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल र सङ्घका बङ्गलादेश च्याप्टरका संयोजक इम्दादुल तैय्यव हकले सरकार, कूटनीतिक र जनता जनताबीचको सम्बन्ध, पर्यटन अभिवृद्धि तथा साहित्य, कला र संस्कृतिको विकासमा दुवै देशबीच आदानप्रदान गर्नुपर्ने सुझाव दिनुभयो । सङ्घका सल्लाहकार धर्मराज बरालले एकार्काले आ-आफ्ना धर्म,  कला र संस्कृतिको  सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।