| बुधबार, कार्तिक १२, २०७७

निको भएर घर फर्कनेहरुको संख्या बढ्दै

काठमाडौं, १० असोज – कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा एक सय जना संक्रमितमध्ये ८९ जना निको भएर घर फर्किएका छन् ।

गत ३ असोजदेखि शुक्रबारसम्म ९ हजार २१ जना संक्रमित थपिएकामा ८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा प्रत्येक एक सय जना संक्रमितमा ८९ जना संक्रमणमुक्त भएको पुष्टि हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएकामा १ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, हालसम्म कुल संक्रमितलाई आधार मान्दा १ सय जनामा ७३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किने गरेका छन् । हालसम्म ७० हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

जसअन्तर्गत् ५१ हजार ८ सय ६६ जना निको भएर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ जना रहेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्