अमेरिकामा नेपालीमाझ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गणतन्त्र माँस्ने कुरा सोच्न पनि सकिदैन’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिहरू कसैले पनि सजिलैसँग माँस्न नसक्ने बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपाली समुदायसँगको भेटमा यस्तो कुरा बताउनु भएको हो ।
उहाँले संविधान कार्यान्वयनमा क्रममा देखिएका कमीकमजोरीहरूलाई सच्याउने गरी संविधान संशोधनको विषयमा छलफल भइरहेपनि लोकतान्त्रिक मूल्यमान्यता, संघीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा कुनै हेरफेर नहुने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले नेपालमा अहिले सजिलै संविधान संशोधन गर्न सक्ने अवस्था समेत नभएको बताउनु भयो । उहाँले संविधान संशोधनको विषयमा दलहरुबीच आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको बताउनु भएको छ ।