| बुधबार, बैशाख ५, २०८१

सहकारी मार्फत समाजवाद उन्मुख अर्थतन्त्र ल्याउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिए : नेता केबी उप्रेती

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहनुभएका पुराना नेता केबी उप्रेतीले सहकारी मार्फत समाजवाद उन्मुख अर्थतन्त्र ल्याउन आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

७३ लाखभन्दा बढी सहकारीका सदस्यहरुको नेतृत्व गर्दै आउनुभएका उप्रेतीको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ । एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका सचिवसमेत रहनुभएका उप्रेतीले सहकारी मार्फत समाजवाद उन्मुख अर्थतन्त्र ल्याउन खुला तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

एमालेको राजनीतिमा लामो समय बिताएका उप्रेती पछिल्लो समय सहकारी अभियानमा संलग्न रहेकाले पार्टीको सक्रिय राजनीतिमा देखिनुभएको थिएन ।  दोलखाको नाम्दुमा २०१७ साल असार १० गते जन्मनुभएका उप्रेती २०३५–०३६ सालबाट विद्यार्थी आन्दोलनमा होमिएर सक्रिय राजनीतिमा क्रियाशील हुनुहुन्छ । २०४५ सालमा पिपुल्स क्याम्पसमा अनेरास्ववियूको तर्फबाट स्ववियू सभापति बन्नुभएका  उप्रेतीले जनआन्दोलन र त्यसपछिको आम निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

अनेरास्ववियूका तत्कालीन अध्यक्ष शंकर पोखरेलको नेतृत्वमा निजी क्याम्पस स्ववियू काउन्सिललाई स्ववियू काउन्सिलमा एकीकरण गराएपछि शंकर पोखरेलको अध्यक्षतामा रहेको स्ववियू काउन्सिलको कोषाध्यक्ष भएर काम गर्नुभएका उप्रेती २०४७ मा एमालेको संगठित सदस्य बन्नुभएको थियो । उप्रेतीले पार्टीको शाखा कमिटी सचिव, इलाका कमिटी सचिव हुँदै काठमाडौं  विशेष जिल्ला कमिटिको सदस्य र सचिव भएर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

केन्द्रीय सम्पर्क विभागको सदस्य हुँदै पछिल्लो समय एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागमा रहेका उप्रेती दुई कार्यकाल विभागको सदस्य हुँदै हाल सचिव बन्नुभएको हो ।  उप्रेती अहिले विभागका तर्फबाट नेकपा एमालेको दशौं  राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्