| बिहिबार, मंसिर १६, २०७८

यो पाँच दलीय होइन १.४ दलको गठबन्धन हो : नेता बस्नेत

काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले अहिले विभिन्न पार्टी मिलेर बनेको गठबन्धन पाँच दलीय गठबन्धन नभएर १.४ दलको गठबन्धन हो भनि बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले काठमाडौँमा आयोजना गरेको विचार गोष्ठी तथा साइवर सर्कल घोषणा कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेससँग अरु पार्टीले मिलेर बनाएको गठबन्धनमा काँग्रेस एउटा पार्टी हो भने बाकीं पोइन्ट ४ को रुपमा माओवादी, नेकपा एस, जसपा तथा जनमोर्चा रहेको दावी गर्नुभएको हो ।  नेता बस्नेतले अहिलेको गठबन्धन सरकारले मुलुक र जनताको मुद्धालाई त्यागी विदेशी तथा दलाल, भ्रष्ट, अवैध गठबन्धन गरी जनतालाई धोका दिएको भन्दै यो गठबन्धनले निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

नेता बस्नेतले पाँच दलीय गठबन्धनको सरकार जनादेशबाट नभई परमादेशबाट बनेको र जनताको पक्षमा नभई दक्षिणपन्थीहरुको इसारामा चलेको आरोप लगाउनु भयो । नेता बस्नेतले आगामी निर्वाचनमा एमालेलाई तीन वटै तहको सरकारमा दुई तिहाई मतका साथ विजय हासिल गराई सिंहदरबारको मुल गेटबाट प्रवेश गराइ समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सफल बनाउने उद्घोष गर्नु भएको छ ।

उहाँले भन्नुभयो,  ‘एमाले जनताको पार्टी हो । आगामी निर्वाचनमा जनताको आशा र भरोसा एमालेमा छ, दुई तिहाई मतका साथ विजय हासिल गर्छ । त्यसपछि एमालेले स्थिर सरकारका साथ देश र जनताको पक्षमा काम गर्ने छ । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने छ । लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता ल्याउने छ । नेपालको स्वभिमानलाई विश्वसामु अझ उच्च बनाउने छ ।’

एमालेको १० औं महाधिवेशनबाट पार्टी अध्यक्षको रुपमा दोस्रो केपी ओली आउनेमा कुनै शंका नरहेको बताउँदै नेता बस्नेतले केपी ओली पार्टीको अध्यक्ष तथा आगामी निर्वाचन पछि शक्तिसाली प्रधानमन्त्रीको रुपमा आउने समेत उल्लेख गर्नुभयो ।

नेता बस्नेतले १०औं महाधिवेशनमा युवाहरुको प्रतिनिधित्वलाई बढाउने र युवा पंक्तिले मुलुकको भाग्य र भविष्य निर्माणका निम्कोति मेरुदण्ड भएकाले उचित स्थान दिई अभियानमा लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हालै गठन भएको साइबर सर्कल अराजक तत्वलाई कानुनी प्रकृयामा ल्याउने मात्र नभई एमालेले गरेका सकारात्मक गतिविधिहरुलाई जनताको माझमा लैजाने समेत विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्