| शुक्रबार, फाल्गुन २१, २०७७

आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन

काठमाडौँ, ११ फागुन – आजकै दिन देशका प्रधानमन्त्री केपी (खड्ग प्रसाद) शर्मा ओलीको जन्म भएको थियो ।

विक्रम संवत् २००८ साल फागुन ११ गते (सन् १९५२ फेब्रुअरी २२) शनिबारका दिन बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रको रूपमा तेह्रथुम जिल्लाको इवा गाउँमा उहाँको जन्म भएको थियो। उहाँको आज ७० औं जन्म दिन हो । प्रधानमन्त्रीको जन्मदिनका अवसरमा उहाँका आफन्त, शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरुले बिहानैदेखि शुभकामना दिइरहेका छन् । प्रधानमन्त्री ओलीले जन्मदिनका अवसरमा आज बालमन्दिरका बालबालिकासँग ‘बर्थ डे’ मनाउने कार्यक्रम रहेको छ ।

विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो।

प्रधानमन्त्री ओलीले पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गर्नु परेको थियो।

उहाँले २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित हुनु भएको थियो। विक्रम संवत् २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य हुँदै विक्रम संवत् २०७१ असारमा पार्टीको अध्यक्ष रुपमा निर्वाचित हुनु भएको थियो ।

प्रधानमन्त्री ओलीले कक्षा ४ सम्मको अध्ययन आफ्नै गाउँमा पूरा गर्नु भएको थियो भने झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गर्नुभएको थियो।

नेपाली तथा विश्व राजनीतिमा अहिले प्रधानमन्त्री ओली निक्कै परिचित भैसक्नु भएको छ । नेपाली जनताले उहाँप्रति राखेको आश विश्वास र भरोसाकै कारण उहाँ सबैको मनमा बस्न सफल हुनुभएको छ ।

राष्ट्र र राष्ट्रियता प्रति संधै अटल र चट्टान जस्तै उभिने उहाँको स्वभावकै कारण उहाँ सबैको आशा र भरोसाको केन्द्र बन्न पुग्नु भएको हो ।

जन्म दिनमा प्रधानमन्त्री ओलीको कार्यक्रम तालिका :

प्रधानमन्त्री ओली विहान १० बजे मन्त्रिपरिषदको नियमित बैठकमा सहभागि हुनुहुनेछ ।
१२ बजे युवासंघको कार्यक्रममा सहभागि हुनुहुनेछ ।
२ बजे बालमन्दिरका बालबालिकासँग समय बिताउनुहुनेछ ।
४ बजे प्रथम महिला राधिका शाक्यद्धारा लिखित ‘मेरा अनुभूति’ पुस्तक विमोचनमा सहभागि हुनुहने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्