| शुक्रबार, फाल्गुन २१, २०७७

विना मगर मन्त्रीबाट हटेपछी मेलम्चीको सुरुङ पुनः परीक्षण

सिन्धुपाल्चोक, ११ फागुन –  मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण शुरू गरिएको छ । साढे २६ किलोमीटर सुरुङमा सोमवार औपचारिक कार्यक्रम गरी पानी भर्न परीक्षण शुरू गरिएको हो ।

खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलगायतको उपस्थितिमा सुरुङ परीक्षणको शुरुआत गरिएको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

सुरुङ भरिन १६ दिन लाग्नेछ । पानी परीक्षणको शुभारम्भ गर्दै खानेपानीमन्त्री थापाले पानी काठमाडौं लगेर वितरण गर्न सकिए ठूलो उपलब्धि हुने बताए । चाँडोभन्दा चाँडो आयोजना सम्पन्न गराउन आफूले पहल गर्ने उनको भनाइ छ । ‘जतिसक्दो छिटो मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने योजनामा छौं,’ उनले भने, ‘त्यसका लागि विज्ञ र सरोकारवालाहरूसँग आवश्यक छलफल गरिरहेका छौं ।’

परीक्षणको समयमा दुर्घटना नहोस् भनेर सावधानी अपनाइएको छ । ‘विगतको जस्तो दुर्घटना नहोस् भनेर विशेष सतर्कता अपनाएका छौं,’ आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले भने । उद्धार योजना बनाएर धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालसँग समन्वय गरिएको उनले बताए ।

गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर, हेलुम्बु गाउँपालिका–१ अम्बाथानको अडिटको मुख्य गेट फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

दुर्घटना भएपछि मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । उक्त समितिले डिजाइनअनुसार भित्रबाट राख्नुपर्ने गेट बाहिरपट्टिबाट राखिएकाले पानीको प्रेसर थाम्न नसकेर दुर्घटना भएको निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदनका आधारमा अहिले सुधार गरी परीक्षणको काम गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर राजेन्द्रप्रसाद पन्तले बताए ।

उनका अनुसार बाहिरबाट भित्रतिर धकेलेर खोल्न मिल्नेगरी गेट राखिएको छ । ग्याल्थुम र अम्बाथान अडिटमा ग्राउटिङ गरेर कंक्रिट प्लग राखिएको छ । उच्च प्रविधिबाट स्थायी हेडवक्र्सको निर्माण गरिएकाले अब सुरुङमा समस्या नदेखिने विश्वास आयोजनाले लिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्