| शनिबार, अशोज १०, २०७७

सांसद बस्नेतद्वारा थिमी ट्रसपुल–महेन्द्र शान्ती सडक शिलान्यास

भक्तपुर, ३० भाद्र – जिल्लामा अवस्थित थिमी ट्रसपुल, गणेश प्रा.वि. बालकोट स्थित पानी ट्याङ्की हुँदै महेन्द्र शान्ति जाने सडक स्तरोन्नती र कालोपत्रका लागि आज शिलान्यास भएको छ । उक्त सडक व्यवस्थित, दिगो, स्थायीत्वसहित आधुनिक तवरले निर्माण कार्य सुरुभएको छ  ।

संघिय सरकारद्वारा बागमती प्रदेश पूर्वाधार विकास कार्यालय अन्तर्गत विनियोजित रु पाँच करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं. ३ को आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले शिलान्यास गर्नुभएको छ । सडकमा ३ न वडा अध्यक्षका प्रत्यासी उमेदवार तथा सांसद बस्नेतको राजनैतिक सल्लाहकार राजकुमार सिलवाल सकृय भै योजनामा भुमिका निभाउनु भएको थियो ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले कोरोनाले असर नगरेमा आगामी दुई वर्षभित्रमा भक्तपुर क्षेत्र नं. २ अन्तरगतका ठूला सडकहरु कालोपत्रे गरीसक्ने घोषणा गर्नुभयो । नेपालको कुनै पनि निर्वाचन क्षेत्रले उक्त प्रकारको घोषणा गर्न तत्काल नसक्ने उल्लेख गर्दै उहाँले जनप्रतिनिधि लागे देशको मुहार फेरिन्छ भन्ने उदाहरणको रुपमा भक्तपुर रहेको दावी गर्नुभयो । विकासको मुहार फेरिएसँगै भक्तपुरका आम जनता भाग्यमानी भएको महशुस गराउने समेत उहाँले उद्घोष गर्नुभयो । जनताको चाहना अनुसारको विकास निर्माणको लागि जनप्रतिनिधि अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले अबका दिनमा भक्तपुरले विकासबाट छाँयामा बस्नु नपर्ने स्पष्ट पार्नुभयो ।

विकासमा पहल तथा पहुँज दुवै हुनु जरुरी रहेकोले जनताले जनप्रतिनिधिलाई घच्घच्याउँनु पर्ने भन्दै उहाँले उक्त सडकको लागि बजेट अपुग भएमा त्यसलाई आगामी वर्षको बजेटबाट व्यवस्थापन गरी सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो । अपुग बजेट संघ तथा प्रदेश सरकारको माध्यमबाट उपलब्ध गराउँने प्रतिवद्धता जनाउँदै उहाँले उक्त सडकको साथ साथै अवाश्यक पर्ने पुलहरु समेत तिव्र गतिका साथ निर्माण भइरहेको जानकारी गराउनुभयो ।

विगतमा भक्तपुरमा रातो कितावमा १०/१२ वटाभन्दा बढी योजना पार्न नसकिने अवस्था थियो तर अहिले करिव ४ सयभन्दा बढी पार्न सफल भएको बताउँदै उहाँले अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा रहेको ४० करोडको लागतमा वालकुमारी रानीकोट सडक निर्माणको क्रममा रहेको बताउनुभयो । त्यस्तै १३ करोडमा पलासे – डोलेश्वरसम्म जाने सडक, १७ करोडमा सुडालदेखी कलमसी जाने सडक, वागेश्वरीलगायतका ठूला सडकहरु निर्माणको क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।

तीन खण्ड गरी हनुमन्ते कोरिडोर निर्माणको लागि दुई अर्व रकमको व्यवस्थापन गरिएको उक्त कोरिडोर निर्माण सम्पन्न भएपश्चात भक्तपुरको मुहार नै परिवर्तन ल्याउने बताउँदै उहाँले कुनै पनि समस्या सिर्जना गरी विकासलाई अवरोध गर्नुनहुने बताउनुभयो । विकास गर्न नसके अबको पुस्ताले वर्तमान नेतृत्वलाई सराप्ने उल्लेख गर्दै उहाँले विकासलाई यो वा त्यो बहानामा रोक्ने कसैलाई छुट नभएको समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बाग्मती प्रदेशका सांसद शशीजंग थापाले भक्तपुर र ललितपुर जोड्ने महत्वपूर्ण सडकको रुपमा उक्त सडक रहेको उल्लेख गर्दै भक्तपुरमा आएका कुनै पनि बजेट फ्रिज हुन नदिने बताउनुभयो । जहाँ समस्या आउँछ त्यही समाधान गर्न जनप्रतिनिधि तयार रहेको बताउँदै उहाँले भक्तपुरका जनतालाई आवश्यक तथा सपनाको रुपमा रहेका सडक, ढल, खानेपानी, पुललगायतका विकासका कार्यहरु निर्माण गरिने स्पष्ट पार्नुभयो ।

वडा नं. ३ का वडाध्यक्ष शिवशरण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सूर्यवनायक नगपालिकाका उपप्रमुख जुना बस्नेत, डिभिजन प्रमुख लोकनाथ रेग्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्