| शुक्रबार, बैशाख ७, २०८१

राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर : प्रधानमन्त्री

काठमाडौँ, २५ श्रावण – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताउनुभएको छ ।

छब्बिसौँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गर्नुभयो । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आम नेपाली नागरिकलाई शुभकामना व्यक्त गर्दै उहाँले कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर दिवस मनाउन सबैमा आह्वानसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यसपटक यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनु पर्ने बाध्यता रहेको भन्दै उहाँले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सरकारले तय गरेका उल्लेख गर्दै यस्तो बेला विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारीले नेपाल लगायत विश्वमै स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको बताउनुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “विश्वसामु खडा भएको यस चुनौतीलाई सामना गर्दै हामी राष्ट्रको आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर छौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको छ ।”

प्रतिक्रिया दिनुहोस्