सत्ता बाहिर बसेको माओवादी छटपटायो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताउनु भएको छ ।
सोमबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूको जिज्ञासालाई सम्बोधन गर्दै उहाँले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन माओवादी केन्द्र लागि परेको बताउनु भएको हो ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले अहिले एसपीपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफ दिनुभएको छ ।
पत्रकारहरूले संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्रीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभएको थियो ।
त्यस्तै सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन भन्ने प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै अगाडी बढ्दै जाने बताउनुभयो ।