सहकारी पीडितले रास्वपा कार्यकर्तामाथि साइबर क्राइम मुद्दा हाले

काठमाडौँ –  रास्वपा कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले सहकारी पीडितहरूमाथि अनर्गल प्रचार गरेको भन्दै  साइबर क्राइम मुद्दा हालेका छन्  ।

शुक्रबार सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गरी लामिछानेका समर्थकहरुले  सामाजिक सञ्जाल मार्फत समिति र पीडितमाथि अनर्गल प्रचार गरी झुठको खेती गरेको भन्दै साइबर क्राइम मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी समेत हालेका हुन् ।

समिति अध्यक्ष किरण श्रेष्ठले पीडितहरुको  मान प्रतिष्ठामा आँच आउने गरी जथाभावी प्रचार गर्ने रास्वपा तथा रवि लामिछाने समर्थित ३ वटा फेसबुक पेज तथा २ जना व्यक्तिविरुद्ध उजुरी दिइसकेको र बाँकीलाई पनि नछाड्ने चेतावनी दिएका छन् । अनुसन्धान जारी रहेकाले  लामिछानेको विषयमा आफूहरू केही नबोल्ने तर संघर्षका कार्यक्रम निरन्तर चलिरहने समितिका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

दुईपटकसम्म गृहमन्त्री हुँदा समेत रास्वपाका सभापति लामिछानेले सहकारी ठगी गरेर फरार रहेका मुख्य अभियुक्त एवं सहकारीका संस्थापक अध्यक्ष जीबी राईलाई जसरी पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउने भने पनि त्यस्तो केहि नगरेको बताएका छन् ।

सहकारी पीडितलाई टुक्राउने खेल भइरहेकेकोमा आपत्ति जनाउँदै संघर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले बचत रकम फिर्ता नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।

सहकारीका रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तीन सातादेखि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई फेरि २५ कात्तिक, आइतबार फेरि अदालत उपस्थित गराइनेछ।

प्रतिक्रिया दिनुहोस्