सहकारीको रकम अपचलन गर्ने रवि भन्छन् : पक्राउ गरे प्रतिवाद गर्छु
काठमाडौँ – नेपाल प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाहीको तयारी गरेपछि लामिछानेले प्रतिवाद गर्ने बताएका छन् ।
गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेका छविलाल जोशी, जीवी राई, कुमार रम्तेल र रास्वपाका सभापति लामिछानेलाई पक्राउको तयारी गरेपछि लामिछानेले हर तवरले आफू लड्न तयार रहेको चेतावनी दिएका हुन् ।
आइतबार साँझ आफू पक्राउ पर्ने डरले सभापति लामिछानेले पार्टीका नेता/कार्यकर्तालाई पार्टी कार्यालयमा आउन सामाजिक सञ्जालमार्फत निर्देशन दिइएको थियो। सहकारी बचत अपचलनको आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने भन्दै रास्वपा पार्टी कार्यालयमा कार्यकर्ताको भिड लागेको थियो।
संसदीय छानबिन समितिले सहकारीको बचत रकम अपचलनमा सभापति लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिसकेको छ ।
सहकारीको बचत रकम अपचलनमा छविलाल पक्राउ लगत्तै सभापति लामिछाने आफ पनि पक्राउ पर्ने हो कि भन्ने डरमा छन् ।
लामिछानेले पार्टी कार्यालयमा रहेको घण्टी बजाउँदै सरकारले षड्यन्त्रपूर्वक आफूलाई पक्राउ गर्न सक्ने भन्दै हर तवरले आफू लड्न तयार रहेको चेतावनी पनि दिएका थिए ।
पार्टी कार्यालयमा नेता/कार्यकर्ताले रविको पक्षमा र सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।
लामिछानेमाथि सहकारीको रकम ठगी गरेको, कागजात किर्ते गरेको, संगठित अपराध, सम्पत्ति शुद्धीकरण तथा कम्पनी रजिष्ट्रारको कार्यालयलाई छल गरेको आरोपहरु लागेका छन् ।