अझैसम्म अज्ञात छ त्रिशूलीमा खसेका बसहरु

काठमाडौँ  – लेदोसहितको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा लेदोसहितको पहिरोमा परेर अज्ञात रहेको दुई वटा बस हिजो दिनभर खोज्दा समेत नभेटिएपछि आज बिहानैदेखि फेरि खोजी कार्य सुरु हुने चितवन प्रहरीले जनाएको छ ।

घटनास्थलबाट तीन, चार किलोमिटर तलसम्म खोज्दा पनि बस नभेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको उहाँले  बताउनुभयो ।

हिजो साँझ गोताखोरको टोलीले बसमा लगाइएको पर्दा भेटेको थियो । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स  बसमा लगाइएको पर्दा र एउटा ट्राउजर गोताखोरले निकालेका थिए ।

वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल डिलक्स बस र काठमाण्डौबाट गौरको लागि छुटेको गणपति डिलक्स बस सिमलतालमा हिजो बिहान करिब ३ बजे पहिरोमा परेका थिए । दुवै बसमा गरेर कम्तिमा ६५ जना यात्रु रहेको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्