सूर्यविनायक नगरपालिका मौलिक र आधुनिक ‘फ्युजन’ सहितको विकासमा
भक्तपुर । भक्तपुर जिल्लामा रहेको सुर्यविनायक नगरपालिकाले यतिबेला विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै अगाडि बढिरहेको र देशकै लागि एक उदाहरण नगरपालिका बन्न सफल भएको छ । हरेक क्षेत्रमा ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को विचारधारालाई पछ्याउँदै नगरपालिकाले पुराना राम्रा कुरालाई साथै लिइ नराम्रालाई छोड्दै, असल नयाँ पक्षलाई समेत समेट्दै अघि बढिरहेको छ ।
पुराना मौलिक शैलीमा नयाँ संरचना निर्माण गर्दै सूर्यविनायक नगरपालिकाले मौलिक र आधुनिकको सुन्दर ‘फ्युजन’ सहितको विकासका कार्य गरिरहेको छ । ‘एक वडा एक ‘फल्चा’ नारासहित नगरपालिकाले आफ्ना १० वटै वडामा पुरानो शैलीका फल्चा निर्माण गरेको छ । प्रतिक्षालय आवश्यक पर्ने स्थानमा फल्चाको निर्माण गरि आवश्यकता र मौलिकतालाई सँगसँगै लैजाने पक्षमा सबैका लागि अनुकरणीय बन्न सूर्यविनायक नगरपालिका सफल भएको छ ।
नगरपालिकाले हाल भौतिक पूर्वाधार साथसाथै मानवीय विकासलाई समेत प्राथमिकतामा राखेर अगाडि बढिरहेको सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराईले बताउनुभयो । राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ का क्रममा उहाँले सो बारे बताउनुभयो ।
‘दिगो विकास र व्यवस्थित शहर,
स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने भिजन लिइ नगरपालिकाले दियो विकासका लागि २० वर्षे आवधिक योजना बनाएर अघि बढिरहेको उपप्रमुख भट्टराईले जानकारी दिनुभयो । सो योजनालाई वर्षैपिच्छे बजेट विनियोजन गरि कार्यान्वयन तर्फ लागिएको समेत उहाँले बताउनुभयो ।
नगरभित्रका ग्रामीण बस्तीका उत्पादन बजारीकरण गरि सर्वसाधारणको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले ग्रामीण सडकहरुको विकासका कार्यहरु थालिएको उपप्रमुख तिमसिना भट्टराईले जानकारी दिनुभयो । सडकको विकासले पर्यटनमा समेत सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । सूर्यविनायक नगरपालिकामा हाल ११ मिटरका ४४ किलोमिटर बाटो रहेको र त्यसमध्ये २८ किलोमिटर पिच भइसकेको र प्रायः सबै खोलामा पुलसमेत बनिसकेको उहाँले बताउनुभयो । नगरपालिकाले आवश्यकता र माग अनुसार नै विकास निर्माणका कार्यहरु गरिरहेको बताउँदै उहाँले सूर्यविनायक बाटोघाटोको विकासका लागि अन्य स्थानीय तहहरुका लागि उदाहरण बनेको दाबी समेत गर्नुभयो ।
नगरपालिकाले भौतिक पूर्वाधारसँगै स्वास्थ्य र शिक्षाको क्षेत्रमा समेत नगरपालिकाले योजना बनाएको उहााँले जानकारी दिनुभयो । नगरपालिकाभित्रका सबै विद्यालयहरुमा भौतिक पूर्वाधार पुर्याइसकेको उपप्रमुख सरिता तिमसिना भट्टराईले बताउनुभयो । । विद्यालयहरुमा विद्यार्थीको संख्या बढ्ने क्रममा रहेको बताउँदै नतिजा समेत अब्बल आएको उहाँले दाबी गर्नुभयो । ‘यसपटकको एसईईको नतिजामा ८५ प्रतिशत उत्तीर्ण भएका छन् । जसमध्ये सामुदायिक विद्यालयको केही कम ५६ प्रतिशत छ, र निजी विद्यालयमा ९५ प्रतिशत छ ।’ उहाँले भन्नुभयो ।
कार्यसम्पादनको मूल्यांकनका आधारमा विद्यालयको प्रधानाध्यापक नियुक्त गर्ने सूर्यविनायक नै पहिलो नगरपालिका रहेको उहाँले बताउनुभयो । उक्त कदमको अन्य स्थानीय तह साथसाथै प्रदेश र संघले समेत सराहना गरेको र केही स्थानीय तहले अनुकरण समेत गरेको उहाँले बताउनुभयो ।
विद्यालय स्तरमा ‘सिक्दै पढ्दै’ को अवधारणा अनुसार अघि बढिएको उहाँले जानकारी दिनुभयो । त्यसका लागि चालू आर्थिक वर्षमा साथैसाथै आगामी आर्थिक वर्षका लागि समेत बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । ‘उपप्रमुखसँग किशोर किशोरी कार्यक्रम’ लगायतका विभिन्न कार्यक्रम मार्फत कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई आवश्यक विभिन्न तालिमहरु दिइएको उहाँले बताउनुभयो । सिक्दै पढ्दैलाई अझै अगाडि लैजाँदै ‘सिक्दै कमाउँदै’ को अवधारणालाई समेत अगाडि बढाइएको उहाँले बताउनुभयो ।
स्वास्थ्य क्षेत्र विकासका लागि पनि नगरपालिकाले कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । हाल नगरपालिकाका ४५ सय घरधुरी स्वास्थ्य बीमामा आवद्ध समेत रहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य बीमामार्फत स्वास्थ्य संस्थामा सहज र कम मूल्यमा पहुँच विस्तार गर्नका लागि नगरपालिकाले एक घरधुरीको एक हजार रुपैयाँ तिरिदिने गरेका कारण हाल नगरमा २५ सय रुपैयाँमा स्वास्थ्य बिमा हुने गरेको उहाँले बताउनुभयो । सूर्यविनायक नगरपालिकाका अस्पतालमा हाल बर्थिङ सेन्टरसमेत उपलब्ध रहेका उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाको योजना अनुसारको कार्य सम्पादनका लागि वडाहरुले समन्वय गरिरहेका छन् । नयाँ पुस्तालाई पुराना समाजको बारेमा जानकारी दिनका लागि प्रत्येक वडामा फल्चा बनाउने कार्यक्रम होस् या सडकको स्तरोन्नति, सबैका लागि वडाले सहजीकरण गरिरहेको छ । नगरपालिका र सर्वसाधारणबीचको समन्वयकर्ताका रुपमा रहेका वडाहरुले सर्वसाधारणको माग नगरपालिकासम्म पुर्याउन र नगरपालिकाको सहयोयमा आवश्यकता अनुसार विकास निर्माणका काम गर्नमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।