| बुधबार, जेष्ठ २, २०८१

बन डढेलोले दर्जनौ घर र सयौ हेक्टर बन क्षेत्र खरानीमा परिणत

काठमाडौँ- बन डढेलो र आगलागीको घटना दिनानु दिन बढ्दै गएको छ । आगोलागीमा परी दर्जनौ घर र सयौ हेक्टर बन क्षेत्र खरानीमा परिणत भएको छ ।

डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण मनवको जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ भने आखाँ पोल्न र पिरो धुँवाको महसुस ले कठिनाइ बढ्दै गएको छ ।

हिजो तस्करबाट बन जोगाउन मुस्किल हुन्थ्यो । तर आज वन डढेलोबाट बन जोगाउनै मुस्किल परिरहेको छ । जीवजन्तु, जडीबुटी र रैथाने वनस्पति समेत मासिदैछन् । यति मात्रै होइन, डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ । सुख्खायाम सुरु भएसँगै देशभर वन र बस्ती जलिरहेका छन् । आगोमा जलेर दिनहुँ दर्जनौं घर र सयौं हेक्टर वन क्षेत्र खरानी भइरहेको छ ।

जङ्गलमा सल्किएको डढेलो ह्वारर्ह्वार्ती बस्तिमा फैलिन थालेपछि फेरि अर्को विपद्को सामना गर्नुपरेको छ । बढ्दै गएको गर्मीका बीच चलिरहेको हावाहुरीले समयमा आगोलागी नियन्त्रणमा नआउँदा केही बस्तिहरु क्षेणभरमा सखाप भएका छन् । यसबाट भएको क्षतिको यकिन तथ्यांक छैन ।

आगलागी भएको स्थान, मृत्यु भएका मानिस, चौपाया र घरको संख्या त एकिन होला । तर डढेको वन क्षेत्र र त्यसबाट पारिस्थितिकीय प्रणालीमा परेको क्षतिको कुनै विवरण छैन । वायु प्रदूषणले आकाश धुम्म हुँदा मानवीय स्वास्थ्यमा परेको असरको लेखाजोखा छैन ।

वन डढेलोका कारण के कति काठहरु जले भन्ने यकिन तथ्याङ्क वन तथा वातावरण मन्त्रालयसँग छैन । डढेलोका कारण वन क्षेत्रमा कटान गरी राखिएको काठ र ढलापढा तथा सुखढ काठहरु वन डढेलोबाट जोगाउन मुस्किल रहेको डिभिजनल वन अधिकृतहरुको गुनासो छ । डढेलोकै कारण नेपालको हावा विश्वकै प्रदूषित भएको छ । स्याटेलाइट इमेज हेर्दा हिमालसम्मै तुवाँलोले ढाकेको छ । तुवाँलोले आकाश ढाकेकाले हवाई उडान–अवतरण प्रभावित भएका छन् ।

नेपालका हिमाल पग्लिंदै जानुमा डढेलो पनि एउटा कारण भएको विज्ञहरु बताउँछन् । विज्ञहरूका अनुसार धेरै आगलागी हुनु र डढेलो लाग्नु भनेको धेरै हरितगृह ग्यास उत्सर्जन हुनु पनि हो, जसले पृथ्वीको तापमान बढाउन भूमिका खेल्छ । वातावरण विभागले वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको भन्दै त्यसबाट जोगिन अपिल गरिरहेको छ ।

भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को सुरुआतदेखि हालसम्म एक हजार ६ सय बढी डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । डढेलोविद् सुन्दर शर्माका अनुसार देशभर वन डढेलोको अवस्था झनझन विकराल बन्दै गइरहेको छ । शर्माका अनुसार नेपालमा साधारणतया वर्षमा २५ सयको हाराहारीमा डढेलाका घटनाहरु हुन्छन् ।

आगलागीका घटनाहरु वर्षेनी दोहोरिन्छन् । तर वन डढेलो नियन्त्रणका लागि प्रभावकारी कदम चालिदैन । वन तथा वातावरण मन्त्रालय भन्छ- आगामी आर्थिक वर्षको बजेटमा डढेलो नियन्त्रणका कार्यक्रमलाई प्रथामिकतामा राखिने छ । मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ ।

कडाइका साथ कानुन कार्यान्वयन नहुँदा मानवीय लापर्वाहीका कारण वन डढेलो बढेको सरोकारवालाहरुको भनाइ छ । वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरणमा जोड दिएको छ । अग्निप्रकोप व्यवस्थापन तथा नियन्त्रण सम्बन्धि निकायसँगको समन्वयमा डढेलो व्यवस्थापन संरचना वा संयन्त्रको विकास गरिँदै लगिने रणनीति छ ।

रणनीतिको प्रभावकारी कार्यान्वयन गर्नका लागि विज्ञहरुले सुझाएका छन् । वनक्षेत्र प्राकृतिक रूपमा सञ्चालित पारिस्थितिक प्रणाली हो । डढेलोलाई वन्यजन्तु र मानव समुदायका लागि विश्वव्यापी खतराको रूपमा लिइन्छ । यसले वायुको गुणस्तरलाई समेत घटाउँछ र जनस्वास्थ्यमा गम्भीर असर पर्छ । यसको दीर्घकालीन असरप्रति सरकारी निकाय गम्भीर बन्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्