| बुधबार, बैशाख १९, २०८१

गर्मी सुरु भएसँगै आगलागी र डढेलोबाट स्थानीय त्रसित

पाल्पा – गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटना बढेका छन् । पाल्पासहित पहाडी जिल्लाहरुमा दैनिक आगालागी हुँदा वनजंगल नजिकका बस्तीका स्थानीय त्रसित भएका छन् ।

कतिपय जिल्लाहरुमा मानवीय र धनजनको क्षति हुने गरेको छ । मानविय असावधानी र सल्केको डढेलो नियन्त्रणका लागि पर्याप्त जनशक्ति र प्रविधिको अभावका कारण जंगल सखाप भएका छन् भने बस्तीहरु जोखिममा परेको स्थानीयले बताएका छन् ।

यसैबीच पाल्पा सदरमुकाम तानसेनको श्रीनगर, वनदेवी क्षेत्रमा दैनिक डढेलो लाग्ने गरेको छ । सुरक्षा निकाय र स्थानीयको पहलमा बस्तीमा आगो पस्नबाट रोकिएपनि जोखम कायमै रहँदा स्थानीय त्रसित भएका छन् ।

तानसेन बजार नजिकका जंगलसहित जिल्लाका सबैजसो स्थानीय स्थानीय तहका सामुदायिक वनहरुमा लागेको डढेलोले बस्तीहरु जोखिममा परेका छन् । डढेलो निभाउन सशस्त्र प्रहरी, नेपाली सेना, जनपथ प्रहरी, वन कर्मचारी, स्थानीय उपभोक्ता खटिने गरेका छन् ।

दश स्थानीय तह रहेको पाल्पामा तानसेन नगरपालिकामा मात्रै एउटा वरुणयन्द्र रहेका कारण स्याउला र घाँसबाटै आगो नियन्त्रणको प्रयास गरिंदै आएको छ । पर्याप्त प्रविधि नभएपछि आगो नियन्त्रणमा लिन समस्या हुँदै आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्