| मङ्लबार, बैशाख १८, २०८१

भारतीय मसलाहरुमा क्यान्सरजन्य विषादी भेटियो

काठमाडौँ – भारतीय कम्पनी एमडीएच र एभरेस्ट मसलाहरूमा क्यान्सरजन्य विषादी भेटिएको छ।

नेपालमा निर्वाध रुपमा बिक्रीवितरण भइरहेको भारतीय कम्पनी एमडीएचएभरेस्टका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको हङकङको खाद्य सुरक्षा विभागले दाबी गर्नुका साथै बिक्री वितरणमा समेत रोक लगाएको छ। इथाइलिन अक्साइडलाई क्यान्सरको अनुसन्धान गरिरहेको एजेन्सीले समूह–१ कार्सिनोजेनमा राखेको जनाएको छ। कार्सिनोजेन क्यान्सरको खतरा पैदा गर्ने पदार्थ हो ।

हङकङ पछि सिंगापुरले समेत एभरेस्ट फिस करी मसलालाई बजारबाट फिर्ता लैजान भारतीय कम्पनीलाई निर्देशन दिइसकेको छ। दुवै देशले आफ्ना नागरिकहरूलाई भारतीय मसलाहरूको प्रयोग नगर्न आग्रह गरेको छ।

सिंगापुरमा मसलाको आयातकर्ताहरुलाई एमडीएचएभरेस्ट कम्पनीको मसला बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ।

सिंगापुरको फुड एजेन्सीले आफ्नो निर्णय सही भएको पुष्टि गर्न हङकङको खाद्य सुरक्षा विभागले जारी गरेको निर्देशनलाई उद्धृत गरेको छ, जसमा भनिएको छ– ‘एमडीएच र एभरेस्टको फिस करी मसलामा क्यान्सर हुन सक्ने तत्वहरू छन्।’ सिंगापुरको फुड एजेन्सीले थोरै मात्रामा इथिलिन अक्साइडबाट तत्काल कुनै खतरा नहुने भएपनि लामो समयसम्म प्रयोग गर्नाले यस्ता रसायनले स्वास्थ्यलाई जोखिममा पार्न सक्ने दाबी गरेको बीबीसी हिन्दी समाचारले जनाएको छ ।

खानालाई ब्याक्टेरिया र कीराहरूबाट जोगाउन इथाइलिन अक्साइड प्रयोग गरिन्छ । इथिलिन अक्साइड एक रंगहीन र ज्वलनशील ग्यास हो। यो सामान्यतया कृषि, स्वास्थ्य सेवा र खाद्य प्रशोधन उद्योगहरूमा धुवाँ, कीटनाशक र स्टेरिलेन्टहरू बनाउन प्रयोग गरिन्छ।

माइक्रोबियल प्रदूषण हटाउन र कीराहरू नियन्त्रण गर्न मसला र अन्य सुख्खा खानाहरूमा इथिलिन अक्साइड प्रयोग गरिने गरिएको छ।  तर, धेरैजसो स्वास्थ्य संस्थाहरूले यसलाई क्यान्सरको जोखिम निम्त्याउने कार्सिनोजेनको श्रेणीमा राखेका छन्।

यसअघि अमेरिकी खाद्य र औषधि प्राधिकरणले एभरेस्टको साम्बर मसाला र गरम मसालालाई बजारबाट फिर्ता लैजान निर्देशन दिएको थियो। त्यतिबेला पनि यी मसलाहरूमा साल्मोनेला पोजेटिभ पाइएको थियो। यो ब्याक्टेरियाले पखाला, पेट दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने वा बान्ता गराउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्