| बुधबार, बैशाख १९, २०८१

प्रदेश सरकार ढले चारजनाको हत्या गर्ने रेशम चौधरीको धम्की

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकार ढले चारजनाको हत्या गर्ने धम्की दिएको आरोप लगाइएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले चौधरीले आफूसहित चारजनाको हत्या गर्ने धम्की दिनुभएको बताउनुभएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रेशम पक्षधरले कुटपिट गरेपछि पत्रकार सम्मेलन गर्दै विश्वकर्माले आफ्नो हत्या हुन सक्ने धम्की आएकाले सुरक्षाको माग गर्नुभएको हो ।

‘हिजो रेशम दाइलाई भेट्न कार्यालय गएका थियौं। हामी चार जना थियौं, उहाँले सिधै भनिदिनुभयो यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुन सक्छ। हिजो यस्तो भन्नु भएको थियो आज ममाथि आक्रमण भयो। असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ उहाँले भन्नुभयो ।

उहाँले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने धम्की दिएको पनि बताउनुभयो ।

उहाँमाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो । आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर कुटपिट गरिएको उहाँले बताउनुभयो । कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उहाँको भनाइ छ । उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उहाँले बताउनुभयो । रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डरौरा थारु, टीकापुर नगरपालिका– ४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रुपमा नलिएको बताउनुभयो ।

आज आफूमाथि भौतिक आक्रमण भएको सुनाउँदै उहाँले भन्नुभयो, ‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले आज विहान ८ बजे मिडिङ बोलाउनु भएको थियो । हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यो । संस्थापक केन्द्रीय समस्य भनिएको थियो । २१ जनालाई बोलाइएको थियो । महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ । यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय समस्यको बैठक थियो । माननीय अध्यक्ष आउन ढिला भयो । उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर, एउटा रुपको ढोकाको मात्रै चुक्कुल लागइएको थिएन कि बाहिरिने मेन गेट पनि बन्द गरेर ममाथि भौतिक आक्रमण भयो ।’

कसैले कुटपिट गरेको खण्डमा, कही दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेमश चौधरीले यसको जिम्मा लिनुपर्ने उहाँको भनाइ छ । उहाँले यस विषयमा वर्तमान गृहमन्त्री रवि लामिछानेको ध्यानाकार्षण गराउनुभयो । आफूहरुले रेमशलाल चौधरीलाई संरक्षक मानेपनि कार्नूनले उनलाई पार्टी सदस्य बन्नसमेत रोक लगाएको उहाँले स्पष्ट पार्नुभयो । तर, रेशमको भनाइ भने ‘मेरो निर्णय मान्दैनौं भने पार्टीमा बस्न पाइँदैन’ भन्ने रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्