भारतकै कारण सार्क शिखर सम्मेलन अन्योलमा
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन भारतकै कारण अन्योलमा परेको छ ।
सार्कको स्थापना सन् १९८५ डिसेम्बर ८ मा भएको थियो । नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, मालदिभ्स र श्रीलङ्का मिलेर सार्क स्थापना भएको हो । सन् २००७ अप्रिलमा भारतमा सम्पन्न १४ औँ शिखर सम्मेलनमा भारतले सिफारिश गरेपछि अफगानिस्तानलाई सदस्यता प्रदान गरेसँगै सार्कमा हाल आठ वटा देशहरु रहेका छन् ।
तर भारतकै कारण बिगत ७ वर्ष देखि पाकिस्तानमा हुने भनेको १९औँ सार्क शिखर सम्मेलन अझैसम्म अन्योलमा परेको छ । पाकिस्तान र भारतको आन्तरिक कलहले सार्क सम्मेलन छायाँमा पर्दै आएको छ ।
भारतले सार्कको विकल्पमा बिमस्टेकलाई बढी प्राथमिकतामा राखेको छ । भारतकै कारण हालसम्म सार्क परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठकसमेत हुन सकेको छैन । पाकिस्तानले सार्क सम्मेलन गर्न चाहेपनि भारतले पटक पटक अड्चन थापेकै कारण सार्कको बैठक अनिश्चित बन्दै गएको छ जसले गर्दा सार्कको अस्तित्व नै सङ्कटमा परेको छ ।
त्यसो त दक्षिण एसियामा भारतसँग सिमा जोडिएका सबै छिमेकी मुलुकहरुसँग भारतको सिमा विवाद रहदै आएको छ । भारतको सिमा विवाद पाकिस्तानसँग मात्रै नभएर नेपाल, बंगलादेश, भुटान, चीन र म्यान्मारसँग समेत छ । भारतको उरीमा १९ भारतीय सैनिकको ज्यान जाने गरी आतंककारी हमला भएपछि भारतले सार्क सम्मेलन टार्दै आएको छ । भारतले उरीमा भएको घटनामा पाकिस्तानलाई दोषी देखाउँदै आतंकको माहोलमा इस्लामाबादमा सम्मेलन हुन नसक्ने धारणा राख्दै आएको छ ।
त्यस्तै अफगानिस्तानमा उदाएको तालिबानको सत्ताले समेत सार्कको बैठकलाई अनिश्चितता तर्फ धकेल्दै गएको छ । भुटान र बंगलादेशले समेत भारतलाई साथ दिएपछि सार्क सम्मेलन हुन नसक्ने अवस्थामा पुगेको छ ।
कोरोना महामारी सुरु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा १३ चैत ०७४ मा सार्कका शीर्ष नेताबीच भिडियो सम्मेलन भएको थियो । सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान सहभागी भएनन् । सार्कका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ, श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका तत्कालीन राष्ट्रपति असरफ घानीले सम्मेलनलाई सम्बोधन गरेका थिए । पाकिस्तानका तर्फबाट प्रधानमन्त्री खानका सल्लाहकारसमेत रहेका स्वास्थ्य राज्यमन्त्री डा. जाफर मिर्जा सहभागी थिए ।
४ चैत ०७२ मा पोखरामा बसेको सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकले ०७३ को कात्तिक २४ र २५ मा पाकिस्तानको इस्लामाबादमा १९औँ शिखर सम्मेलन गर्ने मिति तय गरेको थियो । त्यसअघि काठमाडौंमा ०७२ मंसिर १० र ११ मा भएको १८औँ शिखर सम्मेलनले पाकिस्तानमा सम्मेलन गर्ने तय गरेको थियो ।
क्षेत्रीय सहकार्य अपरिहार्य रहेको जोड दिंदै नेपालले कूटनीतिक प्रयास जारी राखेकै बेला २ फागुन ०७५ मा कास्मिरको पुलवामा आतंककारी हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु भएसँगै भारत र पाकिस्तानबीचको सम्बन्ध थप चिसियो ।
भारत–पाकिस्तानको आपसी टकराबका कारण १९८५ डिसेम्बरमा सात राष्ट्र सदस्य रहने गरी स्थापना भएको सार्कमा युरोपियन युनियन, चीन, जापान, इरानसहित सार्कका नौवटा पर्यवेक्षक मुलुकहरु रहेका छन् ।
त्यस्तै सार्कको नेतृत्व नेपालबाट पाकिस्तानलाई हस्तान्तरण गर्ने निर्णयमा समेत भारत तयार छैन । सार्कलाई कम्जोर पारे नेपाल पनि कमजोर हुने भारतीय बुझाईलाई नकार्न सकिन्न । हाल नेपाल र भारतबीच पनि लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतको भूभागमा विवाद देखिएको छ । यो विवादसमेत सार्क सम्मेलनबाट समाधान निकाल्न सक्ने भएकोले पनि भारतले नियोजित रुपमा सार्कको बैठक सार्न खोजेको बुझ्न सकिन्छ ।
यदि यसै गरि सार्कलाई सिध्याउने भारतीय रणनीति हो भने नेपालले भारतबाहेकका मुलुकहरुलाई साथ लिएर चीनलाई सार्कमा भित्र्याउने तयारीमा लाग्नु पर्ने आज को टट्कारो बिषय बनेको छ।
सार्क सम्मेलनको ३७ वर्ष: १८ वटा महाधिवेशन
पहिलो : १९८५ डिसेम्बर ७ र ८ ( बंगलादेशको ढाका)
दोस्रो : १९८६ नोभेम्बर १६ र १७ ( भारतको बैंगलोर)
तेस्रो : १९८७ नोभेम्बर २ देखि ४ ( नेपालको काठमाडौं)
चौथो : १९८८ डिसेम्बर २९ देखि ३१ ( पाकिस्तानको इस्लामाबाद)
पाँचौँ : १९९० नोभेम्बर २१ देखि २३ (माल्दिभ्सको माले)
छैटौं : १९९१ डिसेम्बर २१ ( श्रीलंकाको कोलम्बो)
सातौँ : १९९३ अप्रिल १० देखि ११ ( बंगलादेशको ढाका)
आठौं : १९९५ मे २ देखि ४ ( भारतको दिल्ली )
नवौँ : १९९७ मे १२ देखि १४ ( माल्दिभ्सको माले)
दशौं : १९९८ जुलाई २९ देखि ३१ (श्रीलंकाको कोलम्बो)
एघारौँ : २००२ जनवरी ४ देखि ६ (काठमाडौं)
१२औँ : २००४ जनवरी ४ देखि ६ सम्म (पाकिस्तानको इस्लामाबाद)
१३औं : २००५ नोभेम्बर १२ र १३ ( बंगलादेशको ढाका)
१४औँ : २००७ अप्रिल ३ र ४ ( भारतको नयाँदिल्ली)
१५औँ : २००८ अगस्ट २ र ३ ( श्रीलंकाको कोलम्बो )
१६औँ : : २०१० अप्रिल २८ र २९ ( भुटानको थिम्पु )
१७औँ : २०११ नोभेम्बर १० र ११ (माल्दिभ्सको अड्डु)
१८औं : २०१४ नोभेम्बर २६ र २७ (काठमाडौं)
१९औं : २०१६ नोभेम्बर ९ र १० मा इस्लामाबादमा तोकिए पनि अझै अनिश्चित