| आइतवार, अशोज १६, २०७९

राष्ट्रपतिबाट विवादित नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । मंगलबार राति १२ बजेसम्म प्रमाणीकरण गर्नुपर्ने समयसीमा रहेपनि देश र जनताको भविष्यमाथी खेलवाड हुन नदिन र संबिधानको रक्षक समेत राष्ट्रपति नै भएको हुनाले उहाँले राष्ट्रहितलाई सर्वोपरी मान्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेसँगै अब उक्त विधेयक स्वतः निष्क्रिय बनेको छ । नागरिकता विधेयक पछिल्लोपटक भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो । तर, त्यसअघि संविधानतः राष्ट्रपतिले लिखित सुझावसहित फिर्ता पठाएको विधेयक सत्ता गठबन्धन दलका नेताहरूले अस्वीकार गरी जस्ताको त्यस्तै पुनः पारित गरी राष्ट्रपति समक्ष पठाएका थिए ।  सत्ता गठबन्धन दलहरुले राष्ट्रपतिको सुझावलाई बेवास्था गर्दै देशको गरिमा र सार्वभौम संसदको अपमान समेत गरेका थिए ।

नागरिकता विधेयकमा समावेश कतिपय प्रावधानहरूले देशका लागि दीर्घकालीन असर पार्ने प्रावधानहरु समेत थिए । सत्ता गठबन्धनबाहेकका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरू नागरिकता विधेयक विरुद्ध उभिनुका साथै विधेयक प्रमाणीकरण नगर्न ध्यानाकर्षण गराउँदै राष्ट्रपतिमाथि दबाब सृजना गर्दै आएका थिए ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि सामाजिक सञ्जालमा राष्ट्रपतिको कदमलाई आम जनताले स्वागत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्