| आइतवार, अशोज १६, २०७९

बालबालिकाहरूलाई प्रविधि सिकाउनु पर्छ : मेयर वासुदेव थापा

भक्तपुर  सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले अहिलेका बालबालिकाहरूलाई प्रविधि सिकाउनु पर्नेमा जोड दिनु भएको छ ।

बुधवार अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसरमा सूर्य विनायक नगरपालिका परिसरमा आयोजित चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बोल्दै नगरप्रमुख थापाले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर थापाले भन्नुभयो – ‘आजकालका साना बालबालिकाहरु भोलि देशका कर्णधार हुन्, यिनीहरू चाडै टिप्ने र सिक्ने स्वभावका हुन्छन् । बालबालिकाहरू जिज्ञासु हुन्छन् र यिनीहरूको विकासमा हामीले कन्जुस्याइँ गर्नु हुँदैन ।’ ‘सूर्य विनायक नगरपालिकाले बालबालिकाहरूका निम्ति गर्नु पर्ने आवश्यक सहयोग दिन हरदम तयार छ । हामीसँग १४ जनाको समूह छ र हामीले यस नगरपालिका भित्र रहेका बालबालिकाहरूलाई गर्नु पर्ने केही कुरा छन् भने शिक्षक शिक्षिकाहरूले सुझाव दिनु होस् हामी गर्छौ’- मेयर थापाले भन्नुभयो ।

कार्यक्रममा बोल्दै मेयर थापाले यस्तो चित्रकला र वक्तृत्वकला प्रतियोगितामा सहभागी हुनु नै ठुलो कुरा हो, सहभागी हुने मध्ये नै प्रथम दोस्रो र तेस्रो हुने हुन् ।

त्यस्तै कार्यक्रममा सूर्य विनायक नगरपालिकाका उप प्रमुख सरिता तिम्सिना भट्टराईले सूर्य विनायक नगरपालिका भित्र बसोबास गर्ने बालबालिकाहरू समक्ष पुग्ने नगरपालिकाको उद्देश्य रहेको बताउनुभएको छ । उहाँले नगरपालिकाले आयोजित गरेको चित्रकला तथा वक्तृत्वकला कार्यक्रममा नगरपालिकालाई बालबालिकाहरूले दिएका सुझावहरू मार्मिक र विचारयोग्य छन् । बालबालिकाहरूका सुझावहरूलाई नगरपालिकाले ग्रहण गर्ने बताउनुभयो । उप प्रमुख भट्टराईले कार्यक्रममा सहभागिता जनाउने सम्पूर्ण बालबालिकाहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनु भएको थियो ।

सूर्य विनायक नगरपालिकाका प्रवक्ता तथा कार्यक्रमका सभापति रवीन्द्र सापकोटाले बालबालिकाहरूको प्रतिभा प्रस्फुटन होस् भनेर  नगरपालिकाले यस किसिमको कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

नगरपालिकाले आयोजना गरेको चित्रकला तथा वक्तृत्वकला कार्यक्रममा चित्रकला प्रदर्शनमा मनोरम विद्यालयकी शेफाली गोसाईं प्रथम भएको छिन् भने बाल गणेश विद्यालयकी रिया लामिछाने दोस्रो र दधिकोट विद्यालयकी मेरी राजथला तेस्रो भएकी छिन् । प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेहरूलाई नगरपालिकाले पुरस्कार स्वरूप क्रमशः नगद रु ५०००, ३५००, २५०० र १४०० प्रदान गरेको थियो ।

त्यस्तै वक्तृत्वकला प्रतियोगितामा अरनिको माविकी सृजना प्रजा प्रथम,  महेन्द्र शान्ति माविकी अनुषा सापकोटा दोस्रो र माउन्ट भ्युकी मुक्ता झा तेस्रो भएकी छिन् ।

चित्रकलाको तर्फबाट निर्णायक मण्डलमा दीपेन्द्रमान बनेपालि, आशुराम खाइजु र राजेन्द्र प्रसाद याकामी हुनुहुन्थ्यो भने वक्तृत्वकलाको निर्णायक मण्डलमा विनोद अधिकारी, रञ्जना सापकोटा, निशा शर्मा, दधिराम गेलाल र सुवास पन्त हुनुहुन्थ्यो ।

कार्यक्रममा राष्ट्रिय सेवा दल NCC का क्याडेटहरुले खुकुरी ड्रिल र एरोविक्स गीत प्रस्तुत गरेका थिए भने माउन्ट भ्यु स्कुलका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सूर्य विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश प्रसाद मैनाली, शिक्षा शाखा प्रमुख रत्न बहादुर कटवाल र नगरपालिकाका १० वटै वडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन श्रीकृष्ण थापाले गरेका थिए ।

हेर्नुहोस् कार्यक्रमका तस्विरहरु : 

 

 

प्रतिक्रिया दिनुहोस्