| आइतवार, अशोज १६, २०७९

प्रचण्डको द्वैध चरित्र मुलुकका लागि घातक बन्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को द्वैध चरित्र मुलुकको लागि घातक बन्दै गएको छ । एमसीसी खारेज गर्नुपर्छ भन्ने मत बोक्ने कार्यकर्ताहरूको बाहुल्य रहेको नेकपा माओवादी केन्द्रको अध्यक्षले नै एमसीसी प्रति आफ्नो द्वैध चरित्र देखाएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूलाई क्रान्तिकारी नेताका रूपमा प्रस्तुत गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भए सँगै दुवै नेता अहिले देश र जनताका सामु नाङ्गिएका छन् । पुर्व प्रधानमन्त्री समेत रहिसकेका प्रचण्डले आज आफ्नो व्यक्तिगत छवि मात्र गिराएका  होइनन् उनको कारणले अहिले मुलुककै अन्तर्राष्ट्रिय गरिमा र विश्वसनीयतामा समेत प्रश्न उठ्न थालेको छ ।

माओवादीका अध्यक्ष प्रचण्ड जो १० वर्षे जनयुद्ध लडेर, आफ्नो ज्यान दाउमा राखेर राजनीति गरेर आएपनि अन्ततः उहीँ नेता अहिले विदेशीका सामु घुँडा टेक्ने तर जनता सामु आफूलाई राष्ट्रवादी नेता रहेको ढोङ गर्ने दोहोरो चरित्र भने छताछुल्ल भइसकेको छ । अमेरिकालाई पठाएको पत्रमा प्रचण्डले हामी एमसीसी अनुमोदन गर्छौँ, हामीलाई ५ महिनाको समय दिनुस्, गठबन्धनको समर्थन पनि हामी सँगै छ भनी उल्लेख गरेका छन् । तर यता सोझो नेपाली जनतालाई मूर्ख बनाउन माहिर प्रचण्डले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने रटान लगाएर बस्दै आएका छन् । प्रचण्डले एमसीसीलाई लेखेको पत्र भित्रको कुनै पनि बुँदामा एमसीसी सच्याएर अघि बढ्नुपर्ने धारणा राखेका छैनन् । तर जनता सामु भाषण गर्दा र अन्तर्वार्ता दिँदा उनले सधैँ एमसीसी सच्याएर अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन् । प्रचण्डले विदेशी सामु एउटा प्रतिबद्धता जनाउने र नेपाली जनता अगाडी अर्को प्रतिबद्धता जनाउने कारण कै लागि उनको दोहोरो चरित्र, छेपारो प्रवृत्ति र बचपना प्रस्टै झल्केको छ ।

प्रचण्डको दोहोरो भूमिकाका कारण देशको बाह्य सम्बन्धमा पनि अनावश्यक दरार उत्पन्न गराएको छ । देशको प्रधानमन्त्री र सत्तामा रहेको दलको नेताले विदेशी मुलुकसँग एउटा प्रतिबद्धता गर्ने र कार्यान्वयन गर्ने समयमा प्रतिबद्धताको गरेको ठिक उल्टो र विपरीत काम गर्नाले देशकै छविमा घात पुर्‍याएको छ । देशको नेताले दोहोरो भूमिका खेल्दा मूलककै चरित्रमाथि आँच पुगेको छ ।

प्रचण्डको अराजनीतिक, गैर कूटनीतिक र खेलाँची गर्ने प्रवृत्ति र शैलीले मुलुककै अन्तर्राष्ट्रिय गरिमा र विश्वसनीयतामा समेत प्रश्न उठ्न थालेको छ । आफूलाई बौद्धिक, कूटनीतिक, चलाख र उच्च नेताको छवि बताउँदै आएका माओवादीका सुप्रिमो कै कारण देशको बाह्य सम्बन्धमा पनि अनावश्यक दरार उत्पन्न गराउनुका साथै देशकै कूटनीतिको ओज घट्नुमा दोषी समेत भएका छन् ।

सधैँ सेटिङ्गको कुरा गर्ने प्रचण्डले नै सेटिङ्ग कै कारण सर्वोच्च अदालतको आदेशबाट परमादेश सरकार बनाउन सफल भए । साम्राज्यवादी, दक्षिण पन्थी र पश्चिमा शक्तिको कट्टर आलोचक प्रचण्ड अन्ततः गठबन्धन गरेर उनीहरू सँगै मिलेर सरकार बनाउनुपर्ने अवस्थामा पुगे । आफूलाई कम्युनिष्ट भन्ने प्रचण्ड कम्युनिष्टकै दुईतिहाईको सरकार ढालेर कांग्रेसको पुच्छर बन्दै सत्तामा पुगे । सत्तामा पुग्नुको उनको उद्देश्य एमसीसी सम्झौता गर्ने, सत्ताको आयु लम्ब्याउने, चुनाव सार्ने र आफू अनुकूलको वातावरण नबने सम्म देशलाई अस्थिर र बन्धकीमा राख्ने उनको उद्देश्यले उनीलाई नै समाप्त पार्दै लागिरहेको छ ।

ढोङी र छेपारो प्रवृत्ति भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको देखावटी अडान र असलीपना देश र जनता सामु पूर्ण रूपमा खुइलिई सकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्