काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको बताउनुहुँदै त्यसको प्रतिवादमा उत्रिनुपर्ने बताउनुभयो ।  ‘विरोधीहरु आक्रामक ढंगले प्रस्तुत भइरहेका छन् सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीकोखण्डन गर्न सबै मन्त्रीहरु लाग्नु पर्यो’ प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्रीले हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध गर्नुभयो ।

सरकारको विरोध गर्दागर्दै लामो समय कटाएको भएपनि केहीले सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको भन्दै प्रधानमन्त्रीले संसारको कुनैपनि देशमा अदालतबाट सरकार नबनेको बताउनुभयो ।

प्रधानमन्त्रीले अघिल्ला वर्ष झैं तराईका जिल्लामा यस वर्ष डुबान नहुने बताउनुभयो  । ‘जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरूमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो’, प्रधानमन्त्रीको भनाई थियो ।  सिमावर्ती क्षेत्रका बाँधबाट हुने डुबानबाट बच्न पनि संयुक्त टोलीसँग मिलेर कार्य गरी डुवान हुन नदिन चनाखो हुनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो ।