| बुधबार, साउन २८, २०७७

नेपालसँगको सम्बन्धलाई चीनले अत्याधिक महत्व दिएको छ: राष्ट्रपति सी

काठमाडौँ, १७ साउन – चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्याधिक महत्व दिएको बताउनुभएको छ ।

आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वर्ष पुगेको दिन । यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । नेपाल–चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गर्नुभएको छ । सो क्रममा राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग काम गर्न इच्छुक रहेको गर्नुहुँदै द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् भन्ने अपेक्षा समत गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सीले यस कारण पनि नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गर्नुभएको छ, ताकि दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चीनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

चीनका राष्ट्रपति सीले गत अक्टोबरमा गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गर्नुभएको छ ।

चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ । उहाँले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्