नेपाल तुरुन्तै ‘लकडाउन’ गरौ

चीनको उहान शहरबाट विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट अहिले सम्म हजारौ मानिसहरुले आफ्नो ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरस चीन हुँदै विश्वका १८६ राष्ट्रहरुमा फैलिसकेको छ । कोरोनाको कारण अहिले सम्म ११,९५३ को मृत्यु भइसकेको अवस्थामा छ भने संक्रमितको संख्या २,९०,२४८ पुगिसकेको छ जसमा निको हुने बिरामीहरुको संख्या ९३,६१८ छ ।
कोरोना भाइरसका कारण संक्रमित हुने व्यक्तिको शरीरमा सुरुमै कुनै किसिमको लक्षण देखा पर्दैन तर पछि एक्कासी यसले रुघा, खोकी, ज्वरो हुँदै महामारीको रुप लिएको देखिन्छ । सुरुका दिन चीनमा यो रोग देखा पर्दा सामान्य रुघाखोकीको लक्षण मात्रै देखिएको थियो तर हेर्दाहेर्दै यसले महामारीको रुप धारण गरिसकेको थियो। चीनमा कोरोना संक्रमणबाट ३,२५५ मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ८१,००८ पुगेको छ । विगत ३ दिन देखि चीनमा नयाँ संक्रमित फेलापरेका छैनन्, तर विदेशबाट चीन फर्किने व्यक्तिहरु भने यस रोगबाट संक्रमित रहेको पुष्टि भएको छ ।
इटालीमा पनि सामान्य रुघाखोकी भनेर हेलचक्र्याई गर्दा त्यहाँ पनि कोरोनाले महामारीको रुप लिइसकेको छ र अहिले इटालीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४,०३२ छ भने संक्रमितहरुको संख्या ४७,००० भन्दा बढी छ ।
त्यस्तै विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले पनि यस्तै किसिमको समस्या भोग्दै छ र अहिले त्यहाँ पनि कोरोनाले महामारीको रुप लिइसकेको छ । सुरुका दिन अमेरिकाको एउटा राज्यमा १ जना व्यक्तिलाई मात्रै कोरोना भाइरसको संक्रमण देखा परेको थियो र उक्त व्यक्ति चीनबाट अमेरिका आएका थियो । दुई महिनाको अन्तरालमै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट २८१ जनाको मृत्यु भइसकेको छ भने २२,००० मानिसहरुमा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो समय यो रोगको संक्रमण अमेरिकाको सबै राज्यहरुमा फैलिसकेको अवस्थामा छ । यो संक्रमण थाहा नै नपाई कति जनामा सरिसकेको छ भन्ने कुरा पत्तो पाउनै मुस्किल छ ।
हो, नेपालीहरु आफ्नो देश निर्वाधरुपमा आउन जान पाउनु पर्छ तर यस्तो सम्बेदनशील समयमा आफ्नो देश फर्किदा विदेशबाट रोग बोकेर आउने जोखिम पनि उच्च हुन्छ । नेपालमा अहिले सम्म कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएको छैन, यो सुखद खबर भए पनि ढुक्क हुने अवस्था भने अझै छैन । विदेशबाट नेपाल फर्किन चाहने हजारौ नेपाली तथा विदेशीहरुलाई केही समयका लागि नेपाल भित्रिन रोक लगाए नेपालमै बसेका करोडौं नेपालीहरुको जीवन सुरक्षित हुन्छ भन्ने कुरामा कुनै दुई मत छैन ।
नेपाल सरकारले विमानस्थल तथा देशका विभिन्न नाकाबाट नेपाल आउने मानिसहरुको तापक्रम नापेर भित्र्याउदै आएको छ जुन पर्याप्त होइन । कोरोनाको लागेको व्यक्तिलाई तुरुन्तै ज्वरो आउँदैन, यो लक्षण कोरोना संक्रमण भइसकेको केहि दिन पछि मात्रै देखा पर्ने हो । कोरोनाबाट संक्रमित भएको एकजना व्यक्ति मात्रै भित्रियो भने अन्जानमा त्यो एक व्यक्तिले हजारौ व्यक्तिहरुमा कोरोना संक्रमण फैलिने जोखिम उच्च बढाउछ । त्यसैले सरकार अत्यन्तै संबेदनशील भएर तुरुन्तै सबै नाकाहरु बन्द गर्नु नै देश र जनताको हितमा हुनेछ । हाम्रो देशको खुला सिमानाले गर्दा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु बिना चेक जाँच सजिलै भित्रिन सक्न हुनाले पनि सरकार समयमै चनाखो हुन एकदम जरूरी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो भर्खरै नेपाली जनताहरुलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको थियो । तर हामी सबै जना टिकट काटेर बस चढेर आ-आफ्नो गाउँ तर्फ हिड्यौ । के हामीले यो कुरा सोच्यौ कि त्यो बस भित्र अरु ३० जना पनि छन् जसलाई कोरोनाको संक्रमण भएको पनि हुन सक्छ भनेर ? हाम्रो यस्तै गल्तीले नेपालमा जुनसुकै बेला कोरोनाले महामारीको रुप लिन बेर लगाउदैन ।
विदेशबाट फर्केर आउने व्यक्तिहरुबाट नै नेपालमा कोरोना संक्रमणको महामारी फैलिने हो । त्यसैले सरकारले बेलैमा नेपालको सबै सिमा नाका तथा विमानस्थल तुरुन्तै ‘लकडाउन‘ गर्नुको विकल्प छैन । यदि लकडाउन गर्न ढिला गर्ने हो भने हामी नेपाली यस महामारीबाट जोगिन सक्दैनौ । न हामी संग साधन श्रोत छ, न जनशक्ति छ, न प्रविधि नै छ । हामी अरुको आस गरेर बस्नुको विकल्प छैन ।
कोरोना संक्रमण भित्रिसकेका मुलुकहरुको केहि महिना अघिको दृश्य हेर्ने हो भने सबैको देशको कमजोरी भनेकै समयमा आफ्नो सिमा नाकामा विदेशी तथा स्वदेशी नागरिकहरुको निर्वाध आवागमनलाई रोक्न नसक्नु र संक्रमित व्यक्ति भेट्ने बित्तिकै पुरै क्षेत्र लकडाउन गर्न नसक्नु नै महामारी फैलिनुको प्रमुख कारण हो ।
त्यसैले सकेसम्म हामी नेपाली जुनसुकै ठाउँ, जुनसुकै देशमा भएपनि सुरक्षित भएर बसौ, भिडभाडबाट टाढै बसौ, विदेशबाट आउने व्यक्तिहरु आफैले आफैलाई क्वारेन्टाइनमा राखौ, सबै नेपालीहरु केहि दिन आफ्नै घर परिवारका बा-आमा, दाजुभाई, दिदीबहिनीहरु संगै बसौ, बाहिरको व्यक्ति संग घुलमिल नगरौ, आफु पनि बाचौं अरुलाई पनि बचाउँ ।