भक्तपुर । नक्कली सरकारी कागजात बनाई अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिएको अभियोगमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

भक्तपुरको मध्यपुरठिमी नगरपलिका ५ राधे–राधेस्थित इजी वे ट्रायल सेन्टरबाट उनीहरूलाई प्रहरीले पक्राउ परेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली ११ घर भई चाबहिल बस्दै आएका २० वर्षीय मनिष श्रेष्ठ, दुधौली ४ घर भई तीनकुने काठमाडौं बस्ने २० वर्षका मनिष लामिछाने, दुधौली १४ का २१ वर्षीय टुल्कुसिंह तामाङ, कालिकोट महबई १ घर भई भक्तपुर कटुन्जे बस्ने २४ वर्षका ईन्द्रबहादुर बानियाँ र गोरखा भीमसेनस्थान १ का २२ वर्षीय राजकुमार श्रीमल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने गरेका थिए । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नक्कली नागरिकता, पासपोर्ट, प्रवेश पत्र, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसमेत बरामद गरेको छ । प्रहरीले  उनीहरूविरुद्ध ‘लिखतसम्बन्धी कसूर’मा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाएको छ ।

यसअघि पनि यस ट्रायल सेन्टरबाट पटकपटक नक्कली परीक्षार्थीहरु पक्राउ पर्दै आएका छन् । लाइसेन्स कारोबारिहरुको ठुलो गिरोह रहेको अनुमान गरेपनि ठुला माछाहरु पक्राउ परेका छैनन् ।

सम्बन्धित समाचार :

भक्तपुर प्रहरीलाई ठुलो सफलता : इजी वे ट्रायल सेन्टरका संचालक निर्भयबाबु प्रसाई पक्राउ