| आइतवार, अशोज ३१, २०७८

संखुवासभा हत्याकाण्ड- भतिजा पक्राउ,यस्तो छ बयान

काठमाडौं । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी कार्की परिवारका नातामा भतिजा पर्छन् ।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

प्रहरीले लोकबहादुरलाई शुक्रबार पक्राउ गरेको हो । मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको एक उच्च अधिकृतले जानकारी दिए । उनले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको बताइएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

घरदेखि रगत लागेको कपडा र हथौडा जस्तो हतियार बराबद भएपछि स्थानीय लोकबहादुर कार्कीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो।

अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार उनी अन्दाजी २६ वर्षीय हुन्।

रगत लागेको कपडा र उक्त हतियारलाई प्रहरीले उम्लिङ घटनाको महत्वपूर्ण ‘क्लु’ को रूपमा लिएको ती प्रहरी अधिकारी बताउँछन्।

हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाई’ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो ।

‘आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेछ’ एक अनुसन्धान अधिकृतले  भने, ‘त्यही रिसले हत्या गरेछन् ।’ उनी मानसक रोगीसमेत भएको प्रहरी बताउँछ भने ‘एक वर्ष अघिदेखि औषधि खाइरहेको भेटिएको छ ।’

प्रतिक्रिया दिनुहोस्